ट्रम्पका पूर्व सल्लाहकार पक्राउ

विराटनगर, ५ भदौ । सीमा क्षेत्रमा पर्खाल बनाउने भन्दै रकम ठगी गरेको आरोपमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व सल्लाहकार स्टीभ ब्यानन पक्राउ परेका छन् ।

मेक्सिकोसँगको सीमा क्षेत्रमा पर्खाल बनाउनलाई आर्थिक सहयोग उठाउने क्रममा ठगी गरेको आरोप लागेपछि उनी पक्राउ परेका हुन् । वी विल्ड द वाल अभियान अन्तर्गत संकलन भएको सयौँ हजार दाताबाट प्राप्त रकम अनियमितता गरेको आरोपमा ब्याननसहित अरु तीन जना पनि पक्राउ परेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।

सो अभियानले २५ मिलियन अमेरिकी डलर संकलन गरेको अमेरिकाको न्याय विभागले जनाएको छ। संकलन भएको रकम मध्ये ब्याननले १० लाख भन्दा बढी डलर लिएको र सो रकम उनले व्यक्तिगत प्रयोजनका लागि खर्च गरेको बताइएको छ ।

रकम उठाउने बेला कुनै पनि रकम व्यक्तिगत रुपमा प्रयोग नगर्ने सर्त थियो । ब्याननले अदालतमा आफू निर्दोष रहेको भन्दै अपिल दर्ता गरेका छन् । उनीहरु माथि छानबिन र अनुसन्धान भइरहेको बताइएको छ ।

Loading...