पीएसजीलाई राहत : नेयमारलाई कारवाही नहुने

एजेन्सी, ५ भदौ । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्ट्राइकर नेयमारलाई कारवाही नहुने भएको छ । युरोपेली फुटबल महासंघ (यूईएफए)ले ब्राजिलियन स्टार नेयमारलाई कारवाही नगर्ने भएको हो ।

यूईएफएको कोरोना प्राटोकलको नियम तोडेका कारण नेयमारलाई च्याम्पियन्स लिगको फाइनल खेलमा प्रतिबन्ध हुन सक्ने अनुमान लगाइएको थियो । मंगलबार राति भएको सेमिफाइनल खेल सकिएलगत्तै जर्सी विपक्षी खेलाडीसँग साटासाट गरेका नेयमारलाई एक खेलको प्रतिबन्ध लगाउन सक्ने आँकलन गरिएको थियो ।

पहिलो सेमिफाइनल खेलअन्तर्गत पीएसजीले जर्मन क्लब आरबी लेइपजिगमाथि ३–० गोलको जित निकाल्दै पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाएको थियो । पोर्चुगलको राजधानी लिस्बोनस्थित स्टेडियो डा लुजमा भएको खेलमा पीएसजीलाई जिताउन मार्किन्होस, एन्जल डी मारिया र जुआन बर्नाट भेलास्कोले समान एक–एक गोल गरेका थिए ।

जसमा, डी मारियाले दुई असिस्ट तथा ब्राजिलियन स्टार नेयमारले एक असिस्ट गरेका थिए । नेयमारको ब्याक पासमा एन्जल डी मारियाले गोल गरेका थिए ।

खेल सकिएलगत्तै नेयमारले जर्मन क्लबका डिफेन्डर मार्सेल हेलस्टेनबर्गसँग मैदानमै जर्सी साटासाट गर्दै यूईएफएको कोरोना प्रोट्रोकलको नियम तोडेका थिए ।

यूईएफएको ३१ पेजको प्रोट्रोकलमा खेलाडीलाई मैदानमै आफ्नो जर्सी उतार्न निषेध गरिएको छ । रिपोर्टअनुसार खेलपछि मैदानमै जर्सी साटेको पाइएमा एक खेलको प्रतिबन्ध र १२ दिन क्वारेन्टाइनमा बस्नुपर्ने सजाय हुन सक्छ ।

त्यसैले अब उनले फाइनल खेल गुमाउनसक्ने देखिएको थियो । तर, यूईएफले उनीविरुद्ध कुनै कारवाही नगर्ने जनाएको बेलायती मिडिया ‘मिर्रर’ले जनाएको छ । खबरका अनुसार यूईएफएले आधिकारिक वेबसाइटमा नेयमारलाई चेतावनीसम्म मात्र दिएको छ ।

‘खेलाडीले शर्ट साटफेर गर्ने कुरामा जोगिनुपर्छ । खेलाडीकै स्वास्थ्यलाई मध्यनजर गर्दै बनाइएको यस नियम पालना गर्न अनुरोध छ’, उसले भनेको छ ।

यसअर्थ नेयमारले जर्मन क्लब बायर्न म्युनिखसँग खेल्न पाउने छन् । पीएसजीले २३ अगस्टमा उपाधिका लागि बायर्नसँग खेल्नेछ ।

नेयमारलाई यसअघि पनि यूईएफएले कारवाही गरिसकेको छ । अघिल्लो सिजनको च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को खेलमा म्यानचेस्टर युनाइटेडसँग पराजित भएपछि नेयमारले अफिसियलमाथि दुर्व्यवहार गरेका थिए ।

सोही कारण नेयरमालाई यूईएफएले तीन खेलका लागि प्रतिबन्ध लगाएको थियो । जसका कारण उनले च्याम्पियन्स लिगअन्तर्गत यस सिजनका सुरुआती केही खेल पनि गुमाएका थिए ।

Loading...