Rumpum Advertisement

हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज आज

हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज आज

विराटगनर, ५ भदौ । नेपाली हिन्दु नारीहरुको महान पर्वका रुपमा मनाइँदै आएको हरितालिका तीज शुक्रबार (आज) परेको छ ।

यो पर्व प्रत्येक वर्ष भाद्र शुक्ल तृतीयाका दिनमा मनाइँछ । नेपाली महिलाहरुले पानी समेत नखाइकन निराहा ब्रत बस्दै नाचगान र महादेवको पूजा आराधना गरेर यो पर्व मनाउने गरेका छन् ।

आजको दिन व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास छ । कोरोना भाइरस संक्रमणको जोखिमका कारण सामूहिक भेला हुन नपाउँदा र आफन्त भेटघाट हुन नपाउँदा यस वर्षको तीज निक्कै खल्लो महसुस गरिएको छ ।

विशेष गरेर तीजको अघिल्लो दिन दर खाने र भोलिपल्ट ब्रत बसेर महिलाहरुले यो पर्व मनाउने गरेका छन् । विशेषगरी माइती एवं दाजुभाइले छोरीचेली, दिदीबहिनीलाई बोलाई दर खुवाउने गर्दछन् । विवाहित महिलाहरु विशेष गरेर माइतमा गएर तीज पर्व मनाउन रुचाउँछन् । तीजमा दर खुवाउन चेलीबेटी लिनलाई घरसम्म माइतीका आफन्त पुग्ने र साथ लागेर माइत आएका चेलीबेटीले हर्षोल्लासका साथ तीज मनाउने चलन छ ।

साथै पर्वका अवसरमा पशुपतिलगायतका मन्दिरहरु बन्द गरिएका छन् । बुधबार रातिदेखि निषेधाज्ञा लागू भएपछि यस वर्ष महिलाले घरमै महादेवको पूजा आराधना गरी तीन मनाउनु पर्ने भएको छ ।

सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ । तर यसको अर्थ सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने नरहेको बताइन्छ ।

निराहार, जलाहार र फलाहार गरी व्रतका तीन किसिम छन्, सक्नेले निराहार, नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत गर्नु उत्तम मानिन्छ । निराहार भनेको केही नखाइकन ब्रत बस्नु हो । जलाहार भनेको पानी खाएर भए पनि ब्रत बस्नु हो । फलाहार भनेको केही फलफूल वा अरु कुनै चिज खाएर पनि बत्र बस्नु भन्ने बुझाउँछ ।

स्वास्थ्य ठीक नहुनेले गहुँको रोटी, मकैको रोटी, स्याउ, सुन्तला, केरा जस्ता फलाहार गरेर पनि व्रत बस्न सकिने छ ।

अटल सौभाग्यको कामनाका लागि, सन्तान प्राप्तिका लागि, अविवाहित केटी एवं केटाहरुले असल वर र बधु प्राप्तिका लागि पनि तीजको व्रत बस्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रका जानकारहरु बताउँछन् । समग्रमा मनोकामना पूर्ण गराउने र सम्पूर्ण परिवारको कल्याणका लागि यो व्रतको प्रयोजन रहेको धर्मशास्त्रीहरुको भनाइ छ ।

अघिल्लो दिन व्रतालुहरुले मीठा मीठा परिकार दरका रुपमा खाई आजको व्रतका लागि पूर्व तयारी गर्छन् । तीजको अवसरमा महिलाहरुले वर्षदिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई गीतका माध्यमबाट सार्वजनिक पनि गर्दछन् ।

बिहीबार दर खाएपछि औपचारिक रुपमा शुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाउने चलन छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धती सहित सप्तऋषिको पूजा गरी तीजलाई बिसर्जना गरिन्छ ।