पर्यटन मजदुरलाई रोजगारी दिँदै बोर्ड

विराटनगर, ५ भदौ । कोभिड–१९ सङ्क्रमणका कारण ठप्प पर्यटन क्षेत्रका मजदुरलाई अस्थायी रोजगारी दिने प्रक्रिया सुरु भएको छ ।

नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी)सँगको सहकार्यमा पहिलो चरणमा २५० जना मजदुरलाई कम्तीमा तीन महिना रोजगारी दिनेछ । यसका लागि बोर्ड र यूएनडीपीसँग समझदारीसमेत भइसकेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको कम्तीमा पाँच हजार मजदुरलाई रोजगारी दिने योजना अनुसार बोर्डले प्रक्रिया सुरु गरेको निर्देशक मणिराज लामिछानेले जानकारी दिए । यसका लागि तत्काल एक करोड ४० लाख रुपैयाँ बजेट विनियोजन गरिसकेको उनले बताए ।

रोजगारी पाउनले खासगरी पदमार्ग मर्मत सम्भार, सरसफाइ लगायतका काम गर्नुपर्नेछ । यसबाट करिब दुई सय ३० जनाले रोजगारी पाउने बोर्डको अनुमान छ ।

बोर्डले यूएनडीपीसँगकै सहकार्यमा आगामी चार वर्षभित्र पाँच हजार पर्यटन मजदुरलाई रोजगारी दिने योजना पनि बनाएको छ । कोभिड–१९ सङ्क्रमणका कारण अति प्रभावित मजदुरलाई सम्बन्धित छाता सङ्गठनको सहकार्यमा पहिचान गरेर रोजगारी दिने विषयमा सकारात्मक छलफल भइरहेको बोर्डले जनाएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ

Loading...