निषेधाज्ञा पालना, जनजीवन शान्त, कोरोनाविरुद्ध एकता

विराटनगर, ५ भदौ । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण महामारी नियन्त्रण तथा रोकथाम गर्न काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञाको पहिलो दिन बिहीबार जनजीवन ठप्प पारेर कोरोनाविरुद्ध एकता देखाइएको छ ।

सङ्क्रमण तीव्र बढ्ने सम्भावना देखिएपछि जारी निषेधाज्ञाको केही अपवाद छोडेर नागरिकले पनि पूर्णतः पालना गरेका छन् भने सरकारले पनि प्रभावकारी कार्यान्वयन गराएको छ । काठमाडौँ, ललितपुर र भक्तपुरका मुख्य सडक, चोक, गल्ली र बस्तीमा चहलपहल शून्य बनेको छ । गएराति १२ बजेबाट उपत्यकामा निषेधाज्ञा जारी गरिएको हो ।
कतिपय स्थानमा दैनिक उपयोगका सामग्री किनमेलका लागि समेत समस्या परेको छ । महानगरीय प्रहरी कार्यालयका अनुसार निषेधाज्ञा कार्यान्वयनमा कडाइ गरिएको छ । सुरक्षाकर्मी सबेरै ४ बजे सडकमा परिचालन गरी निषेधाज्ञा उल्लङ्घन गर्नेलाई स्थलगत कारबाही गरिएको छ ।

महानगरीय प्रहरी प्रमुख विश्वराज पोखरेलले विभिन्न स्थानमा होल्डिङ सेन्टर बनाएर कारबाही गरिएको बताए । निषेधाज्ञा उल्लङ्घन गरी आफन्त भेट्न तथा बैङ्क र वित्तीय संस्थामा जाँदै गरेकाहरू कारबाहीमा परेका छन् । आफूखुसी सञ्चालनमा आएका सवारीसाधन र चालकलाई नियन्त्रणमा लिएर कारबाही गरिएको छ ।

कोरोना सङ्क्रमण भयावह बन्दै गएको बेलामा पनि कतिपय नागरिकले अटेर गर्ने, मास्क प्रयोग नगर्ने र सामाजिक दूरी कायम नराखी लखरलखर सडकमा हिँड्दा सुरक्षाकर्मी जोखिममा रहेको पोखरेलले बताए । आजको गोरखापत्र दैनिकमा समाचार छ

Loading...