Rumpum

Rumpum Advertisement

कोशी कोभिड उपचार केन्द्रमा जडान भयो आईसियु र भेन्टिलेटर

कोशी कोभिड उपचार केन्द्रमा जडान भयो आईसियु र भेन्टिलेटर

विराटनगर, ४ भदौ । उद्घाटनको पाँचमहिना पछि प्रदेश १ सरकारले सञ्चालन गरेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा आईसियु र भेन्टिलेटर जडान भएको छ ।

कोरोनाका लक्षणसहितका संक्रमितको उपचार गर्नेगरी आईसियु र भेन्टिलेटर जडान गरेको हो ।

प्रदेश १ सामाजिक विकास मन्त्री जीवन घिमिरेले संक्रमितको उपचारका लागि १० वटा आईसियु र पाँचवटा भेन्टिलेटरसहितको बेड राखिएको बताए ।

कोरोनाको लक्षण देखिएकालाई अस्पताल र सामान्य प्रकृतिका संक्रमितलाई स्थानीय तहमै उपचारको प्रबन्ध गरिएको मन्त्री घिमिरेले बताए ।

कोशी कोभिड उपचार केन्द्रमा १० वटा आईसीयु वेड, २ वटा फिक्ड र ३ वटा पोर्टेवलसहित ५ वटा भेन्टिलेटर तयारी अवस्थामा रहेको सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले बताए ।

आईसीयुमा हाल ३ जना व्यक्तिहरू उपचाररत छन् । आईसीयु र भेन्टिलेटर सञ्चालनका लागि आवश्यक जनशक्ति व्यवस्थापन पहिलो दुई साताका लागि कोशी अस्पताल र कोभिड अस्पतालमा कार्यरत जनशक्तिबाट गरिएको सचिव कार्कीले बताए ।

उनका अनुसार थप जनशक्ति व्यवस्थापनका लागि १० जना मेडिकल अफिसर र ३० जना स्टाफ नर्सलाई क्रिटिकल केयर तालिम आइतबारबाट सञ्चालन गर्ने तयारी गरिएको छ ।

गत चैत २१ गते देखि सञ्चालनमा ल्याइएको कोरोना उपचार केन्द्रमा वैशाख ५ गतेदेखि कोरोना संक्रमितलाई भर्ना सुरु गरिएको थियो ।

उपचार केन्द्रमा हालसम्म ३ सय १५ जना भर्ना भएका छन् । भर्ना भएकामध्ये १ सय १८ महिला र १ सय ५६ पुरुष गरी २ सय ७४ जना डिस्चार्ज भएका छन् । संक्रमित एक जनाको मृत्यु भएको छ ।

उपचार केन्द्रमा हाल १७ महिला र २४ पुरुष गरी ४१ जना उपचाररत रहेको अस्पतालका संयोजक डा. दीपक सिग्देलले बताए ।