मेस्सी र कोइम्यानबीच ‘वान टू वान’ बार्ता

एजेन्सी, ४ भदौ । बार्सिलोनाका नवनियुक्त प्रशिक्षक रोनाल्ड कोइम्यानले कप्तान मेस्सीलाई बैठकमा बोलाएका छन् ।

बिदा मनाउन शहर छोड्न लागेका अर्जेन्टिनी स्टार मेस्सीलाई कोइम्यानले आकस्मिक रूपमा बैठकमा बोलाएका हुन् ।

अर्जेन्टिनी मिडिया ‘टीवाइसी’का अनुसार डच प्रशिक्षकले बिहीबार नै ‘वान टू वान’ बार्तामा बोलाएपछि मेस्सीले बिदा पनि रोक्नुपर्ने भएको छ ।

बार्सिलोनाको आगामी योजनाका विषयमा कोइम्यान र मेस्सीबीच बार्ता हुने जनाइएको छ ।

मेस्सी बिदा मनाउन आजै क्याटलान शहर छोड्ने योजनामा रहेका थिए । तर, कोइम्यानले आकस्मिक रूपमा मेस्सीसँग बैठक बस्ने जनाए ।

बार्सिलोनाका आगामी योजनाबाहेक चर्चामा रहेको मेस्सीको सरुवाको विषयमा पनि कुरा हुन सक्ने खबरमा जनाइएको छ ।

लिस्बोनमा च्याम्पियन्स लिगअन्तर्गत जर्मन क्लब बायर्न म्युनिखसँग ८–२ गोलको लज्जास्पद हार ब्यहोरेपछि मेस्सी क्लब छोड्ने योजनामा रहेको बताइन्छ ।

तथापि, कोइम्यानले मेस्सीलाई क्लब छोड्न नदिने घोषणा गरिसकेका छन् । कप्तान मेस्सी विश्वकै उत्कृष्ट रहेको बताउँदै कोइम्यानले उनलाई प्राथमिकतामा राख्ने पनि जनाएका थिए ।

Loading...