प्रदेश प्रयोगशालामा रि-एजेन्ट सकियो, पीसीआर जाँच आधा मात्रै

विराटनगर, ४ भदौ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा कोरोना जाँच गर्ने पीसीआर मेसिन बन्द भएको छ । पीसीआर जाँचका लागि आवश्यक पर्ने रिएजेन्ट सकिएका कारण एकै पटक ९६ स्वाबकाे परीक्षण गर्ने मेसिन बन्द भएको हो ।

प्रदेश प्रयोगशालामा ठूलो पीसीआर मेसिनबाट र साना पोर्टेबल तीनवटा मेसिनबाट कोरोना जाँच हुँदैआएको थियो । तर, बिहीबारबाट ठूलो पीसीआर मेसिनको रिएजेन्ट ‘ओइल प्लेट’ सकिएका कारण बन्द भएकाे हाे ।

साना मेसिनले दैनिक बढीमा ३ सयसम्म पीसीआर जाँच गर्दै आएको छ । ‘मेसिन चल्दा दैनिक ८–९ सयसम्मको रिपोर्ट निकालेका थियौं,’ प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुख जयबेन्द्र यादवले भने, ‘ठूलो मेसिनमा दैनिक चार सय वटासम्म रिपोर्ट आउथ्यो ।’ पाेजेटिभ केस धेरै देखिएका कारण साना मेसिनकाे क्षमता घट्ने उनले बताए ।

साउन पहिलो साता स्वीस सरकारले प्रदेश सरकारलाई दुई वटा पीसीआर जाँच गर्ने मेसिन दिएको थियो । दुईमध्ये एउटा मेची अस्पताल र एउटा प्रदेश जनस्वास्थ्य प्रयोगशालामा राखिएको थियाे ।

साे मेसिन उत्पादक कम्पनीकै रि-एजेन्ट लाग्ने भएका कारण समस्या भएको यादवले बताए । ‘स्वीस सरकारबाट आएको मेसिनमा प्रयोग हुने प्लेट बजारमा पाइएन,’ उनले भने, ‘सप्लायर्सलाई भनेका छौं, सोमबार मंगलबारसम्म आइपुग्छ होला ।’

मेसिन दुबई हुँदै आउने बताइएको थियो । तर बुधबार दुबई पुगेको नेपाल एयरलाइन्सकाे प्लेन रित्तो फर्किएका कारण रिएजेन्ट उतै रोकिएको बताइएको छ ।

प्रदेशको एकै पटक ९६ वटा स्वाब परीक्षण गर्ने मसिन बन्द भएका कारण कोरोना जाँच आधा घटेको छ । रि-एजेन्ट सकिएका कारण बिहीबार प्रदेश १ मा १ हजार ५ सय ७ पीसीआर परीक्षण भएको थियो । जसमा ४२ जनाको रिपोर्ट पोजटिभ आएको थियो ।

Loading...