सिन्धुपाल्चोक पहिरो : ३० जनाको शव भेटियो, अझै ९ बेपत्ता

सिन्धुपाल्चोक, ४ भदौ । गत शुक्रबार बिहान सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीको लामागाउँ पहिरोमा बेपत्ता भएकामध्ये ३० जनाको शव फेला परेको छ ।

बिहीबार तीन महिला, एक पुरुष र एक बालक गरी थप पाँचको शव फेला परेसँगै ज्यान गुमाउनेको संख्या ३० पुगेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

उनका अनुसार आज ४२ वर्षीय हीरा दोङ, पाँच वर्षीय सानुकान्छा दोङ, ४२ वर्षीया बिबिरानी दोङ, १८ वर्षीया ललिता दोङ र २४ वर्षीया सङ ल्हामु पाख्रीन दोङको शव फेला परेको हो ।

अझै ९ जना अझै बेपत्ता छन् । हालसम्म शव फेला परेका ३० मध्ये १६ पुरुष र १४ महिला छन् । तीमध्ये १४ बालबालिका मात्रै छन् । बेपत्ताहरूको खोजीमा नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासी जुटेका छन् ।

Loading...