नेपाली क्रिकेट खेलाडीले रोकिएको तलब पाउने

काठमाडौं, ४ भदौ । नेपाली क्रिकेट खेलाडीको तलबका लागि नेपाल क्रिकेट संघ (क्यान)ले प्रक्रिया पूरा गरेर अन्र्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)लाई पठाएको छ ।

सन् २०१९ कै तलब नपाएका क्रिकेट खेलाडीलाई आईसीसीले भनेको फर्म्याटमा हस्ताक्षर संकलन गरेर क्यानले वुधबार पठाएको जनाइएको छ ।

क्यानले २०१९ को तलबका लागि भिडियो एनालिस्ट रमन सिवाकोटीसहित २३ जनाको हस्ताक्षर गरेर कागजात पठाएको हो । क्यानले नेपाली खेलाडी २३ जनाको हस्ताक्षर पठाएको हो ।

त्यसमा नयाँ अनुहारको रूपमा राजु रिजाल पनि रहेका छन् । राजुले एमसीसीसँगको तीन दिवसीय क्रिकेट खेलेकाले आईसीसीले नै केन्द्रीय सम्झौतामा राखेको थियो । अरु नयाँ खेलाडी भने छैनन् ।

आईसीसीले २०१९ का लागि ए श्रेणीको मासिक ३५ हजार, बी श्रेणीको मासिक २५ हजार र सी श्रेणीको मासिक १५ हजार रुपैयाँ तोकेको थियो । तर, अहिले खेलाडीले हस्ताक्षर गर्दा भने तलबको कुरा उल्लेख भने गरिएको छैन ।

एक साता अघिनै खेलाडीहरूको हस्ताक्षर संकलन गर्न सुरु गरिएकोमा केही खेलाडी काठमाडौं बाहिर रहँदा समस्या भएको थियो । ५ जना खेलाडीका कारण प्रक्रिया ढिला भएको थियो ।

बाहिर रहेका खेलाडीहरूले हस्ताक्षर गरे स्क्यान गरेर क्यानमा पठाएका थिए । आरिफ शेख, पवन शर्राफलगातका खेलाडीहरू काठमाडौं बाहिर छन् ।

क्यान निलम्बनमा रहेका बेला आईसीसीले खेलाडीसँग सम्झौता गरेर तलब पठाउने गरेको थियो । यसबीचमा क्यानले काम गर्न सुरु गरे पनि विभिन्न प्रक्रियागत कारणले समयमै तलब निकासा हुन सकेको थिएन ।

यस बीचमा कोरोना भाइरसको महामारीका कारण लकडाउन हुँदा आईसीसीको कार्यालय पनि बन्द हुँदा त्यसले पनि केही समय ढिला भएको थियो ।

आईसीसीमा हस्ताक्षर सहितको डकुमेन्ट पठाएको र अब उताबाट जतिसक्दो चाँडो बजेट निकासा हुने जवाफ आएको क्यानले जनाएको छ । आईसीसीले सन् २०१९ मा राष्ट्रिय खेलकुद परिषद्सँग समन्वय गरेर तत्कालीन कप्तान र प्रशिक्षकको सल्लाहमा तीन श्रेणीमा खेलाडी वर्गीकरण गरेको थियो ।

Loading...