Rumpum

Rumpum Advertisement

विराटनगरमा ५० जनाले जिते कोरोना

विराटनगरमा ५० जनाले जिते कोरोना

विराटनगर, ४ भदौ । समुदायस्तरमा संक्रमण फैलिएको विराटनगरमा एकै दिन ५० जना कोरोना संक्रमणमुक्त भएका छन् ।

विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीका अनुसार बिहीबार ५० जना कोरोना संक्रमणमुक्त भएका हुन् ।

पूर्वाञ्चल विश्वविद्यालय आइसोलेशन गोठगाउँबाट १५ जना, विराटनगर –१९ मा रहेको स्वास्थ्य चाैकीकाे हाेल्डिङ आइसोलेशनबाट १८ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका हुन् ।

१७ जना होम आइसोलेशनमा बस्नेहरू संक्रमणमुक्त भएका हुन् । योसँगै विराटनगरमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १४३ पुगेको छ ।

बिहीबार बैजनाथपुर स्वास्थ्य चौकी क्वारेन्टाइनबाट चारजना पत्रकारसहित १८ जनालाई विराटनगर महानगरकाका मेयर भीम पराजुलीले बिदाई गरेका थिए ।

महानगर आफैंले बनाएको आइशोलेसनमा नगरवासीलाई सेवा दिन पाउँदा खुशी लागेको मेयर पराजुलीले बताए ।

गोठगाँउबाट ४९ जना डिस्चार्ज

बिहीबार पूर्वाञ्चल विश्वविद्यालय गोठगाँउ आइसोलेशन केन्द्रबाट थप ४९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गोठगाउँबाट निको भएर घर फर्किनेको संख्या ५२३ पुगेको छ ।

गोठगाँउ आइसोलेशनका सूचना व्यवस्थापक नवीन लामिछानेका अनुसार बिहीबार मोरङका २६ जना, झापाका ११ जना, सुनसरीका ८ जना, इलामका ३ जना, धनकुटाका १ जना डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेहरू १२देखि ६४ वर्ष उमेर समूहका छन् ।