रुसमा राष्ट्रपतिका आलोचकलाई विष खुवाइएको आरोप

एजेन्सी, ४ भदौ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक एलेक्सी नाभाल्नीलाई विष खुवाइएपछि अचेत अवस्थामा पुगेका छन् । ४४ वर्षीय नाभाल्नीका प्रवक्ता किरा यार्मिसका अनुसार उनलाई विष खुवाइएपछि अस्पतालको कोमामा पुगेका हुन् ।

विष खुवाइएपछि उनलाई साइबेरियास्थित अस्पतालको भेन्टिलेटरमा कोमामा राखिएको हो । सर्बियाबाट मोस्कोसम्मको यात्राका क्रममा नाभाल्नी अचानक बिरामी परेपछि उनको विमानलाई आपत्तकालीत अवतरण गरिएको प्रवक्ता यार्मिसले बताएकी छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै यार्मिसले नाभाल्नीलाई चियामा केही मिसाएर विष दिइएको दाबी गरेकी छन् । विष सेवनपछि उनी बाथरुमभित्रै बेहोस भएका थिए । र, हालसम्म नाभाल्नीको चेत नआएको यार्मिसले जानकारी दिएकी छन् ।

यार्मिसले मस्कोको रेडियो स्टेशन ‘इको’सँग भनेकी छन्, ‘उनले एयरपोर्टको क्याफेमा कालो चिया मात्र खाएका थिए ।’

यसैगरी यार्मिसले ट्वीटरमा षडयन्त्रपूर्वक उनलाई विष खुवाइएको आशंका गरेकी छन् । ‘मलाई लाग्छ, एलेक्सीलाई चियामा विष मिसाएर दिइएको थियो । बिहान उहाँले मात्र चिया पिउनु भएको थियो ।’

यता, रसियन न्यूज एजेन्सी टीएएसएसका अनुसार अस्पतालका फिजिसियन एलेक्जेन्डर मुराखोभस्कीले नाभाल्नीको अवस्था गम्भीर रहेको जनाएका छन् ।

Loading...