सन्दीपको टोली जमैकाको दोस्रो खेल ट्रीनबागोसँग

एजेन्सी, ४ भदौ । क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा शुक्रबार बिहान नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पीनर सन्दीप लामिछाने आवद्ध टोली जमैका तलावाजले दोस्रो खेल खेल्दैछ ।

मंगलबारबाट सुरु भएको नयाँ सिजनको सीपीएलमा सन्दीपको टोली जमैकाले भोलि बिहान पौने चार बजे ट्रीनबागो नाइट राइडर्ससँग प्रतिस्पर्धा गर्न लागेको हो ।

ट्रीनिडाड एन्ड टोबेगोमा हुने यो खेलमा सन्दीपको टोली दोस्रो जितको खोजीमा छ । यसअघि बुधबार राति भएको पहिलो खेलमा जमैकाले सेन्ट लुसिया जोउक्समाथि ५ विकेटको जित निकालेको थियो ।

जसमा सन्दीपले जमैकाका लागि पहिलो विकेट लिएका थिए । सन्दीपले आफ्नो अन्तिम ओभरको दोस्रो बलमा विकेट लिएका थिए । सन्दीपले नजिबुल्लाह जद्रानको विकेट लिएका थिए । उनले १५औं ओभरको दोस्रो बलमा पोवेलबाट क्याचआउट गराएका थिए ।

सन्दीपले पहिलो ओभरमा ८ रन खर्चिएका थिए भने दोस्रो ओभरमा ३ रन तथा तेस्रो ओभरमा ५ रन खर्चिएका थिए ।

अब, दोस्रो खेलमा पनि सन्दीपले प्लेइङ सेटमा स्थान बनाउने सम्भावना बलियो छ ।

यस सिजनको सीपीएलका लागि सन्दीप ९० हजार अमेरिकी डलरमा जमैकामा अनुबन्ध भएका हुन् । उनले यसअघि दुई पटक सीपीएल खेलिसकेका छन् । सीपीएल २५ भदौसम्म चल्ने छ ।

सीपीएलमा जमैका र लुसियासँगै बार्बेडोस् ट्रिडेन्ट्स, ट्रिनबागो नाइट राइडर्स, गुएना अमेजन वारियर्स र सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सले प्रतिस्पर्धा गर्दैछन् । सीपीएलमा कूल ३३ खेल हुने छन् ।

Loading...