नेपालमा कोभिड–१९ को उपचारमा रेम्डेसिभिर औषधि परीक्षण

विराटनगर, ४ भदौ । कोरोना भाइरसको संक्रमित भई अस्पताल भर्ना भएका तथा गम्भीर बिरामीहरूमा रेम्डेसिभीर औषधि परीक्षण सुरु गर्न लागिएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव डा. प्रदीप ज्ञवालीले हाल नेपालमा परीक्षणका रूपमा मात्र रेम्डेसिभीर गम्भिर संक्रमितहरूमा प्रयोग गर्न स्वीकृति दिइएको बताएका छन् । उक्त औषधिलाई डाक्टरको परामर्श लिएर प्रयोग गर्ने वा फार्मेसीमा राखेर बिक्री गर्न नपाइने औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाल बताउँछन् ।

चौथो चरणको ‘क्लिनिकल ट्रायल’ सकिएपछि मात्र अन्यले औषधि प्रयोग गर्न पाउनेछन् । विश्वका केही देशमा तेस्रो चरणको ‘क्लिनिकल ट्रायल’मा रहेको रेम्डेसिभिरले कोभिड–१९ निको पार्ने पुष्टि हालसम्म भइसकेको छैन । तर, अमेरिकासहित विभिन्न देशहरूमा गरिएका परीक्षणहरूले बिरामीहरू चाँडै निको भएको पाइएको छ । ज्ञवालीका अनुसार रेम्डेसिभिर बिरामीको लक्षण हटेको भए पनि पूर्णरूपमा निको भएको होइन ।

अन्य थेरापीभन्दा राम्रो काम गरेकाले आकस्मिक र अनुसन्धानका लागि रेम्डेसिभिरको परीक्षणलाई स्वीकृति दिइएको हो । नेपालमा हाल एक सयजनामा औषधिको परीक्षण गर्न लागिएको छ । चिकित्सकहरूले बिरामीलाई पूर्ण जानकारी भएको लिखित पूर्वस्वीकृति लिएर मात्र औषधिको प्रयोग गर्न पाउने छन् । साथै, बिरामीले नचाहेको खाण्डमा उनीहरूमा रेम्डेसिभिरको प्रयोग गर्न पाइँदैन ।

ज्ञवालीले परीक्षणका क्रममा प्रयोग गरिएको औषधिको शुल्क बिरामीलाई तिराउन नपाइने बताए । अनुसन्धानका लागि गरेको हुँदा बिरामीले नभएर कम्पनी, संस्था वा सरकारले पैसा तिर्नुपर्ने हुन्छ । परीक्षणका लागि स्वास्थ्य मन्त्रालयबाट अनुमति पाए पनि बजेटका लागि थप निर्णय हुन बाँकी छ । कोभिड–१९ का लक्षण देखिएका, सघन उपचार कक्षमा भर्ना भएका तथा भेन्टिलेटरमै राख्नुपर्ने बिरामीलाई बिरामीहरूमा मात्र रेम्डेसिभिरको परीक्षण गर्ने अधिकारीहरूले बताए । परीक्षणका लागि भनेर हाल तीनवटा कम्पनीलाई नेपालमा उक्त औषधि आयातको अनुमति दिइएको छ । उनीहरूले चार हजार पाँच सय रुपैयाँदेखि छ हजार चार सय रुपैयाँ प्रतिडोजमा औपधि ल्याउने प्रस्ताव गगेका छन् ।

इबोला भाइरसको उपचारका लागि विकास गरिएको रेम्डेसिभिर विभिन्न देशहरूमा परीक्षण भइरहेको छ । सुरुमा रेम्डेसिभिरलाई अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन एफडीएले कोरोना भाइरस संक्रमणको उपचारमा आकस्मिक औषधिका रूपमा प्रयोग गर्न स्वीकृति दिएको थियो ।

Loading...