काभ्रेमा कोरोना संक्रमितमध्ये सबैभन्दा धेरै स्वास्थ्यकर्मी र प्रहरी

काभ्रेमा कोरोना संक्रमितमध्ये सबैभन्दा धेरै स्वास्थ्यकर्मी र प्रहरी

काभ्रे, ४ भदौ । काभ्रे जिल्लामा प्रहरी कर्मचारी र स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण बढी देखिएको छ ।

बुधबार साँझसम्म संघीय प्रहरी कार्यालय बनेपामा कार्यरत १९ प्रहरी कर्मचारीमा र धुलिखेल अस्पतालमा कार्यरत १४ जना स्वास्थ्यकर्मीमा संक्रमण देखिएको हो ।

बनेपाको शिर मेमोरियल अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएर निको भइसकेको छ । यस्तै धुलिखेल अस्पतालका डाक्टर, नर्स र वार्ड ब्वाइमा समेत संक्रमण देखिएको छ ।

स्वास्थ्यकर्मीपछि जिल्लामा संक्रमितहरूको संख्या प्रहरीमा धेरै देखिएको हो । संघीय प्रहरी कार्यालय बनेपामा कार्यरत १९ प्रहरी कर्मचारी, उनका परिवारका सदस्य र जिल्ला प्रहरी कार्यालय काभ्रेका घर विदाबाट फर्किएका तीन प्रहरी कर्मचारीमा कोरोना संक्रमण देखिएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेले घर विदाबाट फर्किएका प्रहरी कर्मचारीलाई क्वारेन्टाइनमा राखेकाले थप संक्रमण हुन नपाएको जनाएको छ ।

काभ्रेमा हालसम्म संघीय प्रहरी १९ र जिल्ला प्रहरी कार्यालयमा कार्यरत ३ जना प्रहरी कर्मचारी, वैदेशिक रोजगारबाट फर्किनेहरूमध्ये २५ जना कानून ब्यवसायी १, स्वास्थ्यकर्मी १५, अस्पतालमा कार्यरत कर्मचारी १, जनप्रतिनिधि १, समुदायमा रहेका अन्य ब्यक्तिहरू ३७ जना गरी १०२ जना ब्यक्तिहरू संक्रमित भएका छन् ।