आज थप ६ जनाको मृत्यु, कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२६ पुग्यो

विराटनगर, ४ भदौ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२६ पुगेको छ ।

बिहीबार थप ६ जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आजको ब्रिफिङका क्रममा मन्त्रालयले २ महिला र ४ पुरुष गरी थप छ जनाको कोरोनाबाट ज्यान गएको पुष्टि गरेको हो ।

मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले काठमाडाैंकी एक महिला, मकवानपुरका एक पुरुष, सप्तरीका एक पुरुष र पर्साका एक महिला र २ पुरुषकाे काेराेनाबाट ज्यान गएको जानकारी दिए ।

संक्रमितको संख्या २९ हजार ६४५ पुगेको छ । कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या ११ हजार ५५५ रहेको छ । बिहीबार थप ७०७ जनामा संक्रमण पुष्टि भएकाे हाे ।

यता, नेपालमा कोरोनाबाट मुक्त हुनेको संख्या १७ हजार ९६४ पुगेको छ । कुल संक्रमितमध्ये ६१ प्रतिशतले कोरोना जितेका हुन् । आज थप २६४ जना काेराेनामुक्त भएकाे मन्त्रालयले जनाएकाे छ ।

Loading...