जब मेस्सीले डेभिसलाई जर्सी दिन अस्वीकार गरे

एजेन्सी, ४ भदौ । जर्मन क्लब बायर्न म्युनिखका मिडफिल्डर अल्फेन्सो डेभिसले बार्सिलोनाका कप्तान लियोनल मेस्सीको जर्सी लगाउने सपना अधुरो भएको बताएका छन् ।

च्याम्पियन्स लिगअन्तर्गत क्वार्टरफाइनल खेलमा बार्सिलोनाविरुद्ध ८–२ गोलको जित निकाल्दा डेभिसले मेस्सीसँग जर्सी मागेका थिए । तर, लज्जास्पद हारका कारण निराश मेस्सीले डेभिसलाई आफ्नो जर्सी दिन मानेनन् ।

खेल सकिएपछि क्यानडियन स्टार डेभिसले अर्जेन्टिनी कप्तान मेस्सीसँग जर्सी मागेका थिए ।

हालै एक अन्तर्वार्ताका क्रममा डेभिसले मेस्सीले आफूलाई जर्सी दिन अस्वीकार गरेको खुलासा गरेका हुन् ।

‘बीटी स्पोर्ट्स’सँग कुरा गर्दै डेभिसले भने, ‘मैले मेस्सीलाई जर्सी दिन आग्रह गरेको थिएँ । मेरो विचारमा उहाँ केही निराश देखिनुहुन्थ्यो । केही छैन, आशा गर्छु अर्को कुनै बेला पाउनेछु ।’

युरोपेली फुटबल महासंघ (यूईएफए) को कोरोना प्रोट्रोकलको नियमअनुसार मैदानमै खेलाडीलाई आफ्नो जर्सी उतार्न निषेध गरिएको छ ।

यूईएफएको ३१ पेजको प्रोट्रोकलको विपरीत गइ मैदानमै जर्सी साटेको पाइएमा एक खेलको प्रतिबन्ध र १२ दिन क्वारेन्टाइनमा बस्नुपर्ने सजाय हुन सक्छ । यसैले पनि मेस्सीले डेभिसलाई जर्सी नदिएको हुनसक्ने देखिएको छ ।

Loading...