प्रदेश १ मा ४२ संक्रमित थपिए

विराटनगर, ४ भदौ । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४२ जना कोरोना संक्रमित थपिएका छन् । थपिएकामा १३ महिला र २९ पुरुष छन् ।

सुनसरीमा १२, मोरङमा १०, तेह्रथुममा नौ, उदयपुरमा तीन, धनकुटा र झापामा एक–एक, प्रदेश १ बाहिरका छजनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुनसरीको धरानमा तीन महिला र तीन पुरुष, कोसी गाउँपालिकामा चार पुरुष, रामधुनी र दुहवीमा एक–एक पुरुष, मोरङको बुढीगंगामा दुई महिला र दुई पुरुष, सुन्दरहरैचामा एक महिला र पाँच पुरुष, तेह्रथुमको म्याङलुङमा तीन महिला र छ पुरुष, उदयपुरको त्रियुगामा एक महिला र तीन पुरुष, धनकुटाको सहिदभूमि र झापाको गौरीगञ्जमा एक–एक पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार महोत्तरीका दुई महिला र एक पुरुष, धनुषा र जनकपुरका एक–एक पुरुष र सिरहाका एक महिलामा कोरोना संक्रमण देखिएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या दुई हजार तीन सय ९७ पुगेको छ ।

प्रदेश १ बाट बिहीबार १८ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १४ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट चारजना डिस्चार्ज भएका छन् । प्रदेश १ मा बिहीबार एक हजार पाँच सय सात पीसीआर परीक्षण भएको छ । हालसम्म ७३ हजार पाँच सय ५३ वटा पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयल जनाएको छ ।

Loading...