काठमाडौका सबै नाकामा सेना परिचालन गर्नु पर्छ : डा. पाण्डे

जनस्वाथ्य विज्ञ डा. रविन्द्र पाण्डेले काठमाडौं उपत्यकाका सबै नाकामा सेना परिचालन गर्नुपर्ने बताएका छन् ।

उपत्यकाभित्र अवैधरुपमा आउनेहरुको संख्या धेरै हुँदा कोभिड १९ संक्रमणको जोखिम बढेकाले सानाठूला सबै नाकामा सेना परिचालन गरी नियन्त्रण गर्नुपर्ने डा. पाण्डेले बताएका हुन् ।

डा. पाण्डेले उपत्यकाभित्र अवैधरुपमा एकजनालाई पनि प्रवेश गर्न नदिन सेना परिचालन गनुपर्ने आवश्यकता देखिएको बताए । भारतबाट आएका धेरै मजदुर र संक्रमित क्षेत्रबाट आएका मानिसहरुलाई खोजेर परीक्षण गर्ने कार्यलाई सरकारले तीव्रता दिनुपर्ने पनि उनको भनाइ छ । उपत्यकाका भित्री, बाहिरी र मुख्य सडकलगायत सबै क्षेत्रमा प्रहरीलाई खटाई मानिसहरुलाई घर बाहिर निस्कन नदिने कामलाई प्रभावकारी बनाउनुपर्ने उनले बताए ।

संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि काठमाडौंमा अहिलेसम्म क्वारेन्टाइनको व्यवस्था नगरिएकाले तत्काल क्वारेन्टाइन केन्द्रहरु निर्माण गर्नुपर्नेमा उनले जोड दिए । धेरै जनसंख्या भएको ठाउँमा क्वारेन्टाइन नबनाई बस्नुले सरकारले गम्भीररुपमा नलिएको स्पष्ट हुने पनि डा. पाण्डेले बताए । सरकारले कोरोना रोकथामका लागि लकडाउन तथा निषेधाज्ञा मात्रै गर्ने र अन्य कुनै व्यवस्थापन र तयारीका काम नगर्ने हो भने यसको कुनै अर्थ नहुने उनको भनाइ छ ।

लामो समयसम्म लकडाउन अथवा निषेधाज्ञा गर्न नहुने पनि डा. पाण्डेले बताए । एक हप्ताका लागि गरिएको निषेधाज्ञा बढीमा एक हप्ता मात्रै थप्न उनले सुझाव दिए । १४ दिन निषेधाज्ञा हुँदा समान्य लक्षण भएका संक्रमितहरु निको भइसक्ने र लक्षण देखापरेकाहरु अस्पतालमा जाने भएकाले अर्को व्यक्तिमा संक्रमण सार्न सक्ने सम्भावना कम हुने बताए । उनले समुदायस्तरमा संक्रमण फैलिएको देखिएकाले १४ दिन अर्थात् एक साइकल अवधिसम्म निषेधाज्ञा गर्नु उपयुक्त हुने बताए ।

निषेधाज्ञाको अवस्थामा जनता घरभित्र बस्ने र सरकार सडकमा आउने काम भए मात्रै संक्रमणलाई नियन्त्रण गर्न सकिने उनको भनाइ छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरेपछि सरकारले परीक्षणको दायरा बढाउनुपर्ने र मास परीक्षणमार्फत् धेरैभन्दा धेरै व्यक्तिको परीक्षण गर्नुपर्ने बताए ।

अहिले सरकारसँग दैनिक २२ हजारको पीसीआर परीक्षण गर्न सक्ने क्षमता भएकोमा सुमदायस्तरमा पुगेर पुल प्रणालीबाट दैनिक एक लाख बढीको परीक्षण गर्नुपर्ने सुझाव उनले दिए । यसबाट कुन ठाउँमा संक्रमण बढी छ भन्ने कुरा छुट्याउन सकिने र सोहीअनुसार व्यवस्थापनको कार्य गर्न सकिने उनले बताए ।

आइसोलेसन वार्ड र आईसीयू अहिले नै भरिएको अवस्था भएकाले संक्रमणको स्थिति बढ्यो भने ठूलो क्षति हुन सक्ने उनको भनाइ छ । त्यसैले केही अस्पताललाई कोभिड अस्पतालको रुपमा छुट्याउनसमेत सुझाव दिए । काठमाडौंका दुईवटा मेडिकल कलेज, दुईवटा निजी अस्पताल र दुईवटा सरकारी अस्पताललाई कोरोना अस्पतालको रुपमा छुट्याई भेन्टिलेटर, आईसीयू, आइसोलेसन वार्डको संख्या बढाउनुपर्ने उनले बताए ।

संक्रमण धेरै बढेको अवस्थामा सबै बिरामीलाई अस्पतालमा राख्न सम्भव नहुने भएकाले त्यसका लागि अहिलेदेखि नै व्यवस्था गर्नुपर्ने उनको भनाइ छ । सबै स्थानीय तहका सबै वडामार्फत् कति मान्छे आफ्नै घरमा बस्छन् र कति मान्छे भाडामा बसेका छन् भन्ने तथ्याङ्क लिएर सोहीअनुसार आइसोलेसन केन्द्रको व्यवस्था गर्नुपर्ने उनले बताए । यसबाट आफ्नो घरमा बस्न सम्भव नहुनेहरुका लागि आइसोलेसन व्यवस्था गर्न सहज हुने छ । सम्बन्धित वडामा नै रहेका सरकारी भवन, पार्टीप्यालेस, होटल लगायतको ठाउँमा आइसोलेसन बेड तयार गर्ने र न्यूनतम स्वास्थ्यकर्मीको व्यवस्था गरी उपचारको व्यवस्था गर्नुपर्ने बताए ।

आईसीयू तथा भेन्टिलेटरमा राख्नुपर्ने बिरामीलाई मात्रै अस्पताल भर्ना गर्ने व्यवस्था गर्नुपर्ने उनले बताए । भेन्टिलेटरमा राख्नुपर्ने संक्रमितलाई निको हुने सम्भावना कम भएकाले भेन्टिलेटरको संख्या धेरै बढाउनेभन्दा आईसीयू र आइसोलेसन बेड थप्ने र अक्सिजन प्लान्ट राखेर सेवा दिनुपर्ने बताए । कोरोना संक्रमण भएको अवस्थामा शरिरमा अक्सिजनको कमी हुने भएकाले अक्सिजनको प्लान्टको व्यवस्था गर्नुपर्ने उनले बताए ।

विदेशमा अप्ठेरो अवस्थामा रहेका नेपालीहरुलाई तत्काल उद्दार गरी नेपाल ल्याउने काम पनि निषेधाज्ञाको अवस्थामा नै सम्पन्न गर्नुपर्ने उनले बताए । नेपालमा क्वारेन्टाइनको व्यवस्था गरी उनीहरुलाई उद्दार नगरे ठूलो क्षति हुन सक्ने पनि उनको भनाइ छ । भारतसँगको सिमानाबाट पनि धेरै मानिसहरु नेपालमा आउने भएकाले त्यसको व्यवस्थापनमा सरकारले प्रभावकारी काम गर्नुपर्ने बताए । अब पनि तयारी पुगेको छैन भन्ने अवस्था नरहेको उनको तर्क छ । कुनै पनि नेपाली नेपाल आउन चाहन्छ भने त्यसको व्यवस्थापन गरी आउन दिनुपर्ने उनले बताए । त्यो काम पनि निषेधाज्ञाको अवस्थाभित्र नै सम्पन्न गर्नुपर्नेमा उनले जोड दिए ।

सबैले मास्क लगाउँदा ७० प्रतिशत संक्रमणलाई कम गर्न सकिने र मास्कसँगै भौतिक दुरीलाई कायम गर्ने हो भने संक्रमणको अवस्थालाई ९० प्रतिशत कम गर्न सकिने र हात धुनेलगायतका काम गर्दा संक्रमणलाई अधिकतमरुपमा नियन्त्रण गर्न सकिने उनले बताए ।

Loading...