संक्रमणबाट बुबाको मृत्यु, किरियामा बसेकी छोरीले गरिन् प्रदेश र स्थानीय सरकारविरुद्ध अदालतमा रिट दर्ता

विराटनगर, ४ भदौ । कोरोना संक्रमणबाट मृत्यु भएका बाबुको किरियामा बसिरहेकी छोरीले संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा हेलचेक्र्याइँ भैरहेको भन्दै व्यवस्थित गराउन प्रदेश १ सरकार र महानगरपालिकाविरुद्ध अदालतमा रिट दर्ता गराएकी छन् ।

कोशी कोभिड १९ उपचार केन्द्रमा २८ साउनमा उपचारका क्रममा मृत्यु भएका विराटनगर महानगरपालिका–३ का ५७ वर्षीय सीताराम दाहालकी छोरी २२ वर्षीया निलिमा दहालले रोकथाम, नियन्त्रण र उपचार कार्य व्यवस्थित गराउन प्रदेश १ सरकार, विराटनगर महानगरपालिका र उनीहरुको संयन्त्रलाई विपक्षी बनाएर उच्च अदालत विराटनगरमा परमादेश माग गर्दै रिट निवेदन दर्ता गराएकी हुन् ।

कानुन व्यवसायी दुर्गा पोखरेलका अनुसार बाबुको काजकिरियामा बसिरहेकी छारी निलिमाले विराटनगर–१५ बस्ने ३६ वर्षीय ललन मण्डल वारेसमार्फत् बुधवार उच्च अदालतमा रिट निवेदन दर्ता गराएकी छन् । मुद्दाको पहिलो सुनवाइका लागि आज बिहीबार उच्च अदालत विराटनगरमा पेशी तोकिएको छ ।

संक्रमण रोकथाम, नियन्त्रण र उपचार कार्य व्यवस्थित गराउनु पर्ने र हेलचेक्र्याइँबाट मृत्यु भएकाहरुको अवस्था छानविन गरिनुपर्ने उनको माग छ ।

नेपाल विद्युत प्राधिकरण विराटनगरमा प्राविधिक पदमा कार्यरत उनका बाबु सीताराम कोरोना संक्रमित भएपछि २६ साउनमा उपचारका लागि कोशी कोभिड १९ अस्पताल विराटनगरमा भर्ना भएका थिए । तर श्वासप्रश्वासमा समस्या आएपछि भेन्टिलेर र अक्सिन अभावमा उनको २८ साउन अपरान्ह उपचाररत अवस्थामा मृत्यु भएको थियो ।

प्रदेश सरकार, महानगरपालिका र अस्पतालसहित आठ विपक्षी

आफू बाबुको किरियामा परिवारसँग बसिरहेकी छोरी निलिमाले वारेस ललनकुमार मण्डलमार्फत् बुधबार उच्च अदालत विराटनगरमा रिट दर्ता गराएकी छन् । रिटमा उनले प्रदेश १ सरकारको, सामाजिक विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालयको कोभिड १९ निगरानी तथा अनुगमन सचिवालय, विराटनगर महानगरपालिका, विराटनगर महानगरपालिकाको जनस्वास्थ्य विभाग, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, कोशी अस्पताल विराटनगर, प्रदेश सरकारको कोभिड १९ संकट व्यावस्थापन केन्द्रं (सिसिएमसी) र मेची अस्पताल भद्रपुर झापालाई विपक्षी बनाएकी छन् ।

यस्तो छ परमादेशको आधार र माग दावी

रिट निवेदक निलिमाले नेपालको संविधानको धारा ४६ र १४४ मुलुकी देवानी संहिता २०७४ को दफा २० र मुलुकी देवानी संहितको दफा १९ अनुसार व्यक्तिगत र सार्वजनिक स्वास्थ्य उपचारको अधिकार प्राप्त हुनुपर्ने माग दावी गरेकी छन् ।

प्रदेशमा कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा हेलचेक्र्याइँ भइरहेको भन्दै व्यवस्थित गराएर सबैलाई समानरुपले स्वास्थ्य उपचार, संक्रमण रोकथाम र नियन्त्रणको हक अधिकार दिलाउनु पर्ने उनको माग छ ।

साथै रिटउपर अन्तिम टुङ्गो नलागेसम्म ज्वरो आएका र श्वासप्रश्वासका बिरामीहरुलाई तुरुन्त अस्पतालमा उपचार गर्न पाउने प्रबन्ध मिलाउन पनि उनले माग गरेकी छन् । उनका अनुसार कोरोना महामारीको बेला निजी अस्पतालहरुले आफ्नो उपचार सेवा बन्द गराएकाले समान्य बिरामीहरु पनि उपचारबाट बञ्चित भइरहेकाले अकालमा ज्यान गुमाउनु परिरहेको छ ।

अर्कोतिर भौतिक पूर्वाधार सम्पन्न अस्पताल नहुँदा आर्थिकरुपले सम्पन्न संक्रमितहरु आफ्नै खर्चमा काठमाडौं धाउनु पर्ने बाध्यता कायमै रहेको र उपचार अभावमा मृत्यु हुन सर्वसाधारण बिरामीहरुको संख्या बढिरहेको छ ।

उनले प्रदेश सरकार र महानगरपालिकाअन्तर्गतका निकायहरुले कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा प्रभावकारी कार्य गर्न नसकेको, लक्षण देखिएका संक्रमित बिरामीहरुको उपचारमा हेलचेक्र्याइँ गरेको, सिकिस्त बिरामीहरुका लागि भेन्टिलेटर, आईसीयूहरुको पर्याप्त व्यवस्था नहुँदा अकालमा ज्यान गुम्न थालेको, संक्रमणको दायरासँगै आवश्यक परीक्षण प्रयोगशाला विस्तार गर्न नसक्दा परीक्षणको दायरा बढ्न नसकेको, निजी र सरकारी अस्पतालको वातावरण, आइसोलेसन र क्वारेन्टाइनहरु व्यवस्थित नहुँदा संक्रमण फैलिरहेकाले कोरोना संक्रमण रोकथाम र नियन्त्रण हुन नसकेको आरोप लगाएकी छन् ।

बाबु उपचार अभावले मरे, संक्रमित परिवारको कसैले वास्ता गरेन

एक हप्तादेखि किरियामा बसिरहेकी निवेदक निलिमाका अनुसार विराटनगर महानगरपालिका–३ सम्राट टोल निवासी नेपाल विद्युत प्राधिकरणको प्राविधिक पदमा कार्यरत बुबा ५७ वर्षीय सीताराम दाहाललाई पीसीआर परीक्षण गराउँदा कोरोना सक्रमण भएको थियो ।

तीस वर्षदेखि प्राधिकरण विराटनगर शाखामा कार्यरत दाहाल लकडाउनको समयमा निरन्तर विद्युत विस्तार र मर्मतमा फ्रन्टलाइनमा खटिएका थिए । हट्टाकट्टा शरीर र लामो कालो जुँधा भएका उनी कोरोना संक्रमण भएपछि उपचारका लागि कोशी कोभिड १९ अस्पतालमा उपचारका लागि भर्ना भएका थिए ।

२६ साउनमा भर्ना भएका उनको २८ साउनमा अक्सिजन र भेन्टिलेटर अभावमा मृत्यु भएको थियो । मृत्युअघि २७ र २८ गते दुबै दिन उपचाररत अवस्थामा हरेका सीतारामले आफन्तलाई फोन गरेर आफ्नो अवस्था सिकिस्त हुँदै गएकाले भेन्टिलेटर भएको अस्पतालमा रिफर गराइदिन आग्रह गरेका थिए । आफन्तहरुले चिकित्सकहरुलाई आग्रह गरेर धरान रेफर गर्न खोजे पनि भेन्टिलेटर खाली नभएकाले उनलाई पठाउन सकिएन । यसैले २८ गते अपरान्ह ४ बजे उनको श्वासप्रश्वासमा समस्या आएपछि मृत्यु भयो ।

कोरोना संक्रमित बुबासँगै छोरी निलिमाबाहेक परिवारका पाँचजना सबै सदस्यलाई कोरोना संक्रमण देखा प¥यो । तर उनीहरुले शैया अभावमा उपचार केन्द्रमा भर्ना हुन पाएनन् । उनीहरु आफ्नै घरमा होम आइसोलेसनमा बस्न बाध्य भए । नेगेटिभ रिर्पोट आएकी कान्छी छोरी निलिमा पनि घरभित्र क्वारेन्टाइनमा बसेर बाबुको किरिया बारिरहेकी छन् ।

हाल उनीहरु अझै काजकिरियामा बसरिरहेका छन् । तर होम आइसोलेसनमा बसे पनि उनीहरुलाई किरिया बसेको आठौं दिनमा बल्ल महानगरपालिकाको टोलीले समान्य औषधि उपलब्ध गराएको थियो । प्रदेश सरकारको कोभिड अनुगमन टोलीले पनि एकपल्ट अवस्था बुझ्ने कामबाहेक अरु गरेन । कोभिड अस्पतालमा मृत्यु भएका बुबा सीतारामको मृत्युको अवस्था छानविन गर्न प्रदेश सरकारले चासो नदिएको परिवारको आरोप छ ।

Loading...