चोरबाटोबाट जोगवनी प्रवेश, प्रहरीले रोक्दा मध्यरातमा आक्रमणको प्रयास

विराटनगर, ४ भदौं । विराटनगरको सीमावर्ती क्षेत्रमा प्रहरीमाथि आक्रमणको प्रयास भएको छ । बुधबार राति नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर महानगरपालिका–१७ इश्लामपुरमा प्रहरीमाथि भारतीय र नेपाली नागरिकको समूहले आक्रमणको प्रयास गरेको हो ।

कोरोना संक्रमण नियन्त्रणका लागि स्थानीय प्रशासनले नाकामा कडाइँ गरेको छ । तर नेपालबाट भारत र भारतबाट नेपालतर्फ आवतजावत रोकिएको छैन ।

सामान खरिद गर्ने बहानामा लुकछिपी गएकाहरुलाई रोक्दा करिब चार सयजनाको समूहले आक्रमणको प्रयास गरेको इलाका प्रहरी कार्यालय विराटनगर रानीका प्रहरी निरीक्षक दीपक थापाले जानकारी दिए ।

भारततर्फ गएकाहरुलाई नेपाल र सशस्त्र प्रहरीले उतै रोक्न खोजेपछि बुधबार साँझबाट तनाव सुरु भएको थियो । उनीहरुले भारतीयको सहयोगमा नेपाली सुरक्षाकर्मीमाथि आक्रमण गर्न खोजेको प्रहरीले जनाएको छ ।

‘नेपालबाट लुकिछिपी सामान खरिद गर्ने बहानामा भारततिर गएका रहेछन्,’ थापाले भने, ‘सामान लिएर जबरजस्ती नेपाल प्रवेश गर्न खोजेपछि हामीले रोक्दा अवस्था तनावपूर्ण बन्यो ।’ थप मद्दतको टोली समयमा नै पुगेका कारण झडप नभएको उनले बताए ।

एक्कासी भारततिरबाट तीन÷चार सयजनाको हुल आएर सीमा क्षेत्रमा खटिएका नेपाल र सशस्त्र प्रहरीमाथि आक्रमणको प्रयास गरेको थियो । भीड नियन्त्रण गर्न भारतीय प्रहरीले पनि सहयोग गरेका कारण आक्रमण गर्न खोज्नेहरु राति ९ बजेपछि भागेका थिए ।

नेपालीहरुकै कारण आफ्नो व्यापार चल्ने भएपछि त्यहाँका व्यापारीले नेपाल–भारत अवातजावतमा नेपालीलाई साथ दिँदै आएको प्रहरीको भनाइ छ । ‘कोरोना संक्रमणको जोखिमका कारण सीमाको आवतजावतलाई शून्यमा झार्ने काम भइरहेको छ,’ थापाले भने, ‘तर पनि लुकिछिपी जानेहरुका कारण समस्या हुने गरेको छ ।’

Loading...