करेन्ट लागेर र डुबेर दुई जनाको मृत्यु

विराटगनर, ४ भदौ । मोरङमा भएका अलगअलग घटनामा करेन्ट लागेर र पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ ।

घर नजिकैको कुलोमा करेन्ट लगाएर माछा मार्ने क्रममा उर्लाबारी नगरपालिका–७ मा एक जनाको मृत्यु भएको छ । करेन्ट लागेर बुधबार साँझ २८ वर्षीय नवीन विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

माछा मार्ने क्रममा अचानक आफैलाई करेन्ट लाग्दा विक घाइते भएका थिए । उपचारका लागि उर्लाबारीको गोदावरी अस्पताल लैजाने क्रममा उनको बाटैमा मृत्यु भएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए ।

त्यस्तै रंगेली नगरपालिका–१ का ४९ वर्षीय खड्गबहादुर मगरको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । घर नजिकै रहेको माछा पोखरीमा पौडी खेल्ने क्रममा डुबेरका मगरलाई खोजी गर्ने क्रममा मृत फेला पारिएको एसपी खड्काले बताए ।

प्रहरीले दुवै घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ ।

Loading...