बायर्नले रोनाल्डो र बार्सिलोनाको रेकर्ड तोड्न सक्ने

एजेन्सी, ४ भदौ । जर्मन क्लब बायर्न म्युनिख यस सिजन ‘गोल मेसिन’का रूपमा प्रस्तुत हुँदै आएको छ । यस सिजन सबै प्रतियोगिता गरी बायर्नले ५१ खेलबाट १५८ गोल गरेको छ ।

बुधबार राति च्याम्पियन्स लिगको सेमिफाइनलमा फ्रेन्च क्लब लियोनमाथि बायर्नले ३–० गोलको जित निकालेको थियो । त्यसअघि क्वार्टरफाइनलमा बार्सिलोनाविरुद्ध ८–२ गोलान्तरको जित निकालेको थियो ।

अब, च्याम्पियन्स लिगको फाइनलमा उसले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग खेल्नेछ ।

पीएसजीले मंगलबार राति भएको पहिलो सेमिफाइनल खेलमा जर्मन क्लब आरबी लेइपजिगमाथि ३–० गोलको जित निकाल्दै पहिलो पटक युरोपियन च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाएको छ ।

बायर्न र पीएसजीबीचको खेल २३ अगस्टमा हुनेछ । यस खेलमा बायर्नले च्याम्पियन्स लिगका दुई रेकर्ड तोड्न सक्नेछ ।

यदि, थोमस टुचेलको क्लबविरुद्ध ३ गोल गरेमा बार्यनले बार्सिलोनाले बनाएको एक सिजन च्याम्पियन्स लिगमा सर्वाधिक गोल गर्ने कीर्तिमान तोड्नेछ । सन् १९९९–२००० को सिजनमा बार्सिलोनाले च्याम्पियन्स लिगमा ४५ गोल गरेको थियो ।

क्याटलान क्लबले १६ खेल खेल्दा प्रतिखेल औसत २.८ गोल गरेको थियो । यता, जर्मन क्लबले ११ खेल खेल्दा प्रतिखेल औसत ४.२ गोल गरेको छ ।

यसैगरी यस सिजन बायर्नका स्ट्राइकर रोबर्ट लेवान्डोस्की पनि उच्च फर्ममा छन् । उनले यस सिजनको च्याम्पियन्स लिगमा १५ गोल गरेका छन् ।

अब दुई गोल गरेमा ३१ वर्षीय लेवान्डोस्कीले पोर्चुगिज स्टार क्रिस्टियानो रोनाडोको कीर्तिमानसँग बराबरी गर्नेछन् ।

रोनाल्डोले २०१३–१४ को च्याम्पियन्स लिगमा एकै सिजन १७ गोल गरे सो कीर्तिमान बनाएका थिए ।

पोलिस स्टार लेवान्डोस्कीले यस सिजन सबै प्रतियोगिता गरी ४६ खेल खेल्दा ५५ गोल गरेका छन् । पछिल्ला ९ च्याम्पियन्स लिग खेलमा उनले गोल गर्दै आइरहेका छन् ।

Loading...