लियोनलाई हराउँदै बायर्न फाइनलमा, उपाधिका लागि पीएसजीसँग खेल्ने

एजेन्सी, ४ भदौ । जर्मन क्लब बायर्न म्युनिख युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ ।

बुधबार राति भएको दोस्रो सेमिफाइनलमा खेलमा फ्रेन्च क्लब लियोनमाथि ३–० गोलको जित निकाल्दै बायर्न च्याम्पियन्स लिगको उपाधि नजिक पुगेको हो ।

पोर्चुगलको राजधानी लिस्बोनस्थित स्टेडियो जोसे अल्भालाडेमा भएको उक्त खेलमा बायर्नलाई जिताउन सर्जी ग्नाब्रीले दुई गोल गरे भने रोबर्ट लेवान्डोस्कीले एक गोल गरे ।

खेलको १८औं मिनेटमा जोशुआ किम्मिचको पासमा ग्नाब्रीले गोल गर्दै बायर्नलाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको ३३औं मिनेटमा उनले दोस्रो गोल गर्दै बायर्नको अग्रता दोब्बर बनाए । उनको गोलपछि पहिलो हाफभरि बायर्न २–० गोलले अगाडि रह्यो ।

खेल सकिन २ मिनेट बाँकी छँदा लेवान्डोस्कीले गोल गर्दै किम्मिचकै पासमा गोल गरे । च्याम्पियन्स लिगमा यस सिजन १५औं गोल गर्दै लेवान्डोस्कीले बायर्नलाई ३–० गोलको जित दिलाए ।

अब बायर्नले फाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग खेल्नेछ । पीएसजीले मंगलबार राति भएको पहिलो सेमिफाइनल खेलमा जर्मन क्लब आरबी लेइपजिगमाथि ३–० गोलको जित निकाल्दै पहिलो पटक युरोपियन च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाएको छ ।

फाइनल खेल २३ अगस्टमा हुनेछ ।

Loading...