Rumpum

Rumpum Advertisement

म हाँसुँ कसरी ?

म हाँसुँ कसरी ?

विराटनगर, ४ भदौ । राष्ट्रकवि माधवप्रसाद घिमिरे हरेक वर्ष कुसे औंसीको बिहानै जुरुक्क उठ्नासाथ श्रीमती महाकालीलाई भन्थे, ‘ल तिमीलाई उपहार के चाहिन्छ ? ’ अनि, आँगनमा फुलेका फूल सुम्सुम्याउन पुग्थे। मन परेको फूल टिप्थे र भन्थे, ‘ल लेऊ जन्मदिनको उपहार ?’

तर यो जन्मदिनमा सधैंझैं फूल दिने उही प्रियलाई महाकाली अन्तिमपटक फूलका गुच्छाले श्रद्धाञ्जली दिन बाध्य भइन्। फूलसँग अन्तरंग कुराकानी गर्ने राष्ट्रकविले लेखेकै छन्, ‘फूलको थुँगा बहेर गयो गंगाको पानीमा।’ उनलाई श्रद्धाञ्जली दिन पुगेकाहरूले अन्तिम विदाई गरेका फूलहरू पनि बागमती नदीमा बगिरहेका थिए, कहिल्यै नफर्कने गरी जसरी गए राष्ट्रकवि सदाका लागि।

नहाँसुँ भने सखीलाई पीर मै हाँसुँ कसरी

रोउँला राति भनेर आँसु मै साँचूँ कसरी ।

राष्ट्रकविले लेखेको गीतका यी लाइन उनकै पत्नी महाकालीका लागि लेखिदिए जस्तो भयो बुधबार। आफ्नो ८५औं जन्मदिनमा उनी पति माधवलाई पशुपति आर्यघाटस्थित १ नम्बर चिताछेउको ब्रह्मनालमा श्रद्धाञ्जली दिइरहेकी थिइन्।

लैनचौरस्थित अलकाबस्तीमा रहेको राष्ट्रकविको घरमा प्रत्येक वर्षको यो दिन हर्षोउल्लास हुन्थ्यो। बिहानै छोराछोरी, बुहारी र ज्वाइँहरू उपहार बोकेर पुग्थे। आमालाई जन्मदिनको शुभकामना भन्थे अनि बुबालाई ‘मुख हे¥यौं’ भन्थे।

अनि भेला भएका छोरीहरू एकै स्वरमा ‘गायत्री मन्त्र’ उच्चारण गर्थे। ‘बुबा हामीले यो मन्त्रोच्चारण गरिरहँदा जहिले पनि खुसीले गद्गद् हुनुहुन्थ्यो र वाचनपछि भन्नुहुन्थ्यो अहो । कस्तो शुद्ध कति मिठो स्वरमा वाचन ? मेरो त मनै गद्गद् हुन्छ’, छोरी पूर्वसचिव डा, किरण रेग्मीले भनिन्। महाकालीले ब्रह्मनालमा सुताइएका पति माधवलाई जल अर्पण गरिन् र ढोगिन्।

२००४ मा पहिली पत्नी गौरीको निधन भएपछि २०१३ मा राष्ट्रकविले महाकालीसँग विवाह गरेका थिए। उनले जेठी पत्नीका नाममा ‘गौरी’ शोक काव्य लेखेका थिए।

राष्ट्रकविको निधनमा प्रधानमन्त्री केपीशर्मा ओलीले साहित्यमार्फत् लगाउनुभएको गुण जनताले नभुल्ने बताए ।

राष्ट्रकवि घिमिरे महिना दिनपछि असोज ६ गते १०२ औं जन्म दिन मनाउने तयारीमा थिए। समयले छेकबार लगाइदियो। शताब्दि पूरा गरेको अघिल्लो असोज ६ मा भने उनको जन्मदिन भव्य रूपमा मनाइएको थियो। पत्नी महाकालीले पतिको जन्मदिनमा केक काटिदिएकी थिइन्।

त्यसपछि उनले पतिलाई विवाहमा झैं दुबो र बत्तुको माला पहिल्याइदिएकी थिइन् भने राष्ट्रकविले पनि महाकालीलाई त्यस्तै माला लगाइदिएका थिए। छोरी किरण सम्झन्छिन्, ‘अघिल्लो वर्षको बुबाको जन्मदिनको रौनक आँखाभरि छ, शताब्दि पुग्नु हुँदा पनि बुबा उत्तिकै रसिलो हँसिलो हुनुहुन्थ्यो। हामी उहाँहरूलाई रोमान्टिक जोडी मान्थ्यौं।’

नेपाल पञ्चांग निर्णायक समितिका पूर्वअध्यक्ष प्राडा माधव भट्टराई पत्नीको जन्मदिनमा पतिलाई अन्तिम श्रद्धाञ्जली दिनुलाई दैवको लिला ठान्छन्। स्वीकार्नैपर्ने विकल्पको दिन भन्दै उनले थपे, ‘वास्तवमा आज कुसे औंसी, बुबाको मुख हेर्ने दिन अनि उता महाकालीको जन्म दिन पनि रहेछ। तर महाकालीका लागि यही दिन रित्तो भयो। संसारै विचित्रको छ भनेको यही रहेछ।’

पाँच दिनेदेखि स्वास्थ्यमा समस्या बढ्दै गएपछि राष्ट्रकविको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा निजी निवासमै निधन भएको थियो। लमजुङको पुस्तुन गाउँस्थित बाहुन गाउँमा १९७६ असोज ७ गते जन्मिएका उनको १०१ वर्षको उमेरमा निधन भएको हो। बुधबार बिहानै उपप्रधानमन्त्री ईश्वर पोखरेल लैनचौरस्थित घरैमा पुगेर उनको पार्थिव शरीरमा नेपालको झण्डा ओढाएका थिए। आर्यघाटमा भने संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री योगेश भट्टराई पुगेका थिए।

राष्ट्रकविलाई पशुपति आर्यघाटको १ नम्बर चितामा छोराद्धय इन्दिवर र राजीवले दागबत्ती दिएका थिए। आर्यघाट पुगेका शुभचिन्तक भन्दै थिए, ‘बुबाको मुख हेर्ने दिनमा मुखमा दागबत्ती दिनुपर्ने लेख्या रैछ।’ १० बजे ल्याउने भनिए पनि सवा ११ मा सेनाले ‘नेपाली हामी रहुँला कहाँ नेपालै नरहे’ बोलको गीतको धुन बजाउँदै आर्यघाट ल्याएका थिए।

संस्कृतिमन्त्री योगेश भट्टराईले राष्ट्रकविलाई अन्तिम श्रद्धाञ्जली दिएर सदाका लागि विदाई गरे पनि कालजयी कृतिहरूले उहाँ युगयुग बाँचिरहने बताए। उनले भने, ‘सरकारका तर्फबाट उहाँलाई उच्च राष्ट्रिय सम्मान दिएका छौं। युगको प्रतिनिधित्व गर्नु हुने उहाँलाई जीवन्त राख्न सरकारले पहल र प्रयास गर्नेछ।’

‘सर्जक भनेको नदीजस्तै हुनुपर्छ, सधैं बगिरहनु पर्छ’, राष्ट्रकविले पनि १०१औं जन्मदिन मनाउँदा युवा स्रष्टालाई भनेका थिए, ‘नयाँ युगको थालनी भएको छ, देशको छवि विश्वमा चिनाउने यो ठूलो अवसर हो, युवा स्रष्टा सिर्जनामा समर्पित भएर लाग्नुपर्छ।’

कोरोना महामारीका कारण आर्यघाटमा सञ्चारकर्मी र सुरक्षाकर्मीको मात्र उपस्थिति थियो। राष्ट्रकवि घिमिरेले आफ्नो निधनपछि मात्र सार्वजनिक गर्ने गरी रेकर्ड गराएको गीत कर्णदासको स्वरमा छ। उनले लेखेको यो गीतजस्तै उनको मरण भएको आभास आर्यघाट पुग्नेहरूले गरेको बताए,

त्यसरी होओस् मरण,

जसरी सुत्छन् तारमा गीतका चारु चरण।

हिमालचुली देशमा, दिनको शान्त भेषमा,

जसरी गर्छन् विश्राम,

सूर्यका स्वर्ण किरण त्यसरी होओस् मरण।’ आजको अन्नपूर्ण पोस्टमा समाचार छ