Rumpum

Rumpum Advertisement

पर्यटकीय गन्तव्यको ‘जीआईएस म्यापिङ’

पर्यटकीय गन्तव्यको ‘जीआईएस म्यापिङ’

विराटनगर, ४ भदौ । देशभरका प्रमुख पर्यटकीय गन्तव्यबारे सम्पूर्ण किसिमको जानकारी राख्ने उद्देश्यसहित नेपाल पर्यटन बोर्डले भौगोलिक सूचना प्रणाली (जीआईएस) ‘म्यापिङ’ तयार गर्ने भएको छ ।

चालू आर्थिक वर्ष २०७७÷७८ को वार्षिक कार्यक्रममै समेटेर ७७ जिल्लाकै जीआईएस म्यापिङ गर्ने तयारी गरेको बोर्डका अनुसन्धान, योजना र अनुगमन विभाग प्रमुख मणिराज लामिछानेले जानकारी दिए । पर्यटकीय गन्तव्य र यससँग सम्बन्धित पर्याप्त तथ्याङ्कको अभाव रहेको अवस्थामा बोर्डले भौगोलिक सूचना सङ्कलन गर्ने र त्यसलाई सजिलै जुनसुकै ठाउँबाट हेर्न सकिने गरी व्यवस्था गर्न लागेको हो ।

कुनै पनि जिल्लामा रहेको पर्यटकीय गन्तव्य, होटल सङ्ख्या तथा सुविधा, धार्मिक क्षेत्र, तालतलैया, पदमार्ग लगायत सबै विषयलाई यो म्यापिङमा समेट्ने प्रयास गर्दै छौँ’ उनले भने । पर्यटकीय स्थानबारे सही जानकारी लिन सम्बन्धित ठाउँमै पुग्नुपर्ने बाध्यताको यसले अन्त्य गर्ने उनको भनाइ छ ।

कोभिड–१९ सङ्क्रमणबाट परिस्थिति केही सहज हुनासाथ म्यापिङको काम अगाडि बढाइने उनले बताए । अनलाइनमा आधारित जीआईएस म्यापिङमार्फत स्थान छनोट गरेर क्लिक गरेकै आधारमा त्यहाँका बारेमा विस्तृत जानकारी लिन सकिन्छ । बोर्डले यो कार्यका लागि त्रिभुवन विश्वविद्यालयसँग पनि सहकार्य गर्ने जनाएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ