‘न्यूनतम स्वास्थ्य उपचार नपाएर संक्रमितकाे मृत्यु भयाे, दोषीलाई कारवाही हाेस्’

विराटनगर, ३ भदौं । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा भर्ना भएका आफ्ना बुबाको लापरवाहीका कारण मृत्यु भएको भन्दै सीताराम दाहालकी छोरीले उच्च अदालत विराटनगरमा रिट दायर गरेकी छन् ।

कोरोना संक्रमणपछि अस्पतालमा भर्ना भएका बुबाको न्युनतम स्वास्थ्य उपचार नपाएका मृत्यु भएको घटनाको छानविन गर्न र दोषिलाई कारवाहीको माग गर्दै उच्च अदालत विराटनगरमा रिट निवेदन दायर गरेकी हुन ।

२८ साउनमा दाहालको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा मृत्यु भएको थियो । नेपाल विद्युत प्राधिकरणका कर्मचारी दाहालकी छोरी निलिमा दाहालले लापरवाही गर्ने प्रदेश सरकार, स्थानीय सरकार र अस्पतालाई कारवाही गर्न माग गर्दै उच्च अदालतमा रिट निवेदन दर्ता गराएकी हुन ।

विद्युत सुचारु गर्नुपर्ने जिम्मेवारीका कारण नियमित कार्यालयको काममा संलग्न रहने क्रममा कोरोना संक्रमण भएपछि साउन २६ गते उनलाई कोशी अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो ।

‘साउन २६ र २७ गते अस्पतालमा गएर बुबाको अवस्था बुझ्दा बिरामीको अवस्था सामान्य रहेको र बिरामीलाई केही हुँदैन भनेर हामीलाई पठाइएको थियो,’ रिटमा भनिएको छ ‘२८ गते बुवासँग भेटहुँदा कसैले पनि वास्ता नगरेको, स्वास्थ्यकर्मीहरुले कुनै सोधिखोजी नगरेको र उपचार अभावमा स्वास्थ्य असामान्य भएको बताउनु भएको थियो ।’

प्रदेश १ सामाजिक विकास मन्त्रालय, विराटनगर महानगरपालिका,विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, कोशी अस्पताल, प्रदेश सरकारको कोभिड १९ संकट व्यवस्थापन केन्द्रलाई विपक्षी बनाएर दायर गरिएको रिटमा लापरवाहीले न्यूनतम स्वास्थ्य उपचारसमेत नपाई बुवाले अकालमा ज्यान गुमाउनु परेकाले कारवाही गर्न माग गरिएको छ ।

स्वास्थ्य सेवा पाउनु नागरिकको नैसर्गिक अधिकार भएपनि स्वास्थ्य संस्थाले न्यूनतम उपचार सेवा दिनुको साटो बिरामीलाई कैदीबन्दीको जस्तो व्यवहार गर्दा अकालमा बाबुको ज्यान गएको रिट निवेदनमा भनिएको छ ।

संक्रमणको अवस्था बढिरहेको सन्दर्भमा अस्पतालहरुको क्षमता सुधार नभएको, सघन उपचार कक्षहरुको व्यवस्था नभएको, भेन्टिलेटर सञ्चालन नगरिएको आदि कारणले बिरामीले उचित उपचार नपाउँदा अकालमा ज्यान गुमाउनु परेको भन्दै अस्पताल र प्रयोगशालाको क्षमता बढाई संक्रमितको उपचार गर्न आवश्यक परमादेश जारी गर्न रिट निवेदनमा माग गरिएको छ ।

Loading...