लुइजका कारण विलियन आर्सनलमा

एजेन्सी, ३ भदौ । यसै साता मात्र आर्सनलमा अनुबन्ध भएका ब्राजिलिय स्टार विलियनले आफू डेभिड लुइजको आग्रहमा आर्सनल आएको खुलाएका छन् ।

गत शुक्रबार मात्र आर्सनलमा अनुबन्ध भएका उनले राष्ट्रिय टोलीका सहकर्मी लुइजको आग्रहमा आर्सनल आएको खुलाएका छन् ।

अगस्ट २०१३ मा स्टाम्फोर्ड ब्रिज आएका ३२ वर्षीय विलियनले ७ वर्षे चेल्सी बसाइ बिट मार्दै आर्सनल सरुवा भएका थिए । फ्रि ट्रान्सफरमा आर्सनलमा अनुबन्ध भएका उनीले तीन वर्षे सम्झौता गरेका छन् ।

उनले लण्डन क्लब चेल्सीबाट पाँच उपाधि जितेका थिए । उनले दुई पटक प्रिमियर लिग, एक पटक युरोपा, एफ ए र लिग कप जितेका थिए । उनले चेल्सीको जर्सीमा ३३९ खेल खेल्दै ६३ गोल गरेका थिए ।

त्यसअघि ब्राजिलकै स्टार लुइज अगस्ट २०१९ मा चेल्सीबाट आर्सनलमा अनुबन्ध भएका थिए । लुइजकै आग्रहमा आफू आर्सनल आएको विलियनले खुलाएका छन् ।

आर्सनलको आधिकारिक वेबसाइटसँगको कुराकानीमा विलियनले भने, ‘म यहाँ आउँदा लुइज धेरै खुशी भए । हामीले राष्ट्रिय टोलीबाट पनि एक साथ खेलेका छौं । चेल्सीबाट पनि संगै खेलेका थियौं र अब आर्सनलमा पनि हामी फेरि एकसाथ भएका छौं ।’

‘मेरो विचारमा हामीले एकसाथ धेरै कुरा गर्न सक्छौं । उनीसँग फेरि एकसाथ हुन पाउँदम म खुशी छु । उनकै आग्रहमा म यहाँ आएको हुँ । उनले मसँगको कुराकानीमा आर्सनल आउन भनेका थिए,’ उनले भने ।

Loading...