जब नेयमारले लेइपजिगको मजाक उडाए

एजेन्सी, ३ भदौ । ब्राजिलियन स्टार नेयमारले जर्मन क्लब आरबी लेइपजिगलाई सामाजिक सञ्जालमा ‘ट्रोल’ गरेका छन् ।

च्याम्पियन्स लिगअन्तर्गत सेमिफाइनल खेलमा जित निकालेपछि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का स्ट्राइकर नेयमारले इन्टाग्राममार्फत् लेइपजिगलाई ‘ट्रोल’ गरेका हुन् ।

नेयमारले इन्स्टाग्राममा रेडबुलको कपको फोटो पोस्ट गर्दै फाइनल पुगेको भन्दै रेडबुल क्लब लेइपजिगको मजाक उडाएका हुन् । लेइपजिग रेडबुलद्वारा प्रायोजित क्लब हो ।

मंगलबार राति भएको पहिलो सेमिफाइनल खेलमा पीएसजीले लेइपजिगमाथि ३–० गोलको जित निकालेको थियो । पोर्चुगलको राजधानी लिस्बोनस्थित स्टेडियो डा लुजमा भएको खेलमा जित निकालेसँगै पीएसजी पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुग्यो ।

पीएसजीलाई जिताउन मार्किन्होस, एन्जल डी मारिया र जुआन बर्नाट भेलास्कोले समान एक–एक गोल गरेका थिए । जसमा, डी मारियाले दुई असिस्ट तथा ब्राजिलियन स्टार नेयमारले एक असिस्ट गरेका थिए । नेयमारको ब्याक पासमा एन्जल डी मारियाले गोल गरेका थिए ।

नेयमारले फाइनल खेल गुमाउन सक्ने पनि देखिएको छ । खेल सकिएलगत्तै नेयमारले जर्मन क्लबका डिफेन्डर मार्सेल हेलस्टेनबर्गसँग क्यामेराको अगाडि नै जर्सी साटासाट गर्दै यूईएफएको कोरोना प्रोट्रोकलको नियम तोडेका थिए ।

यूईएफएको ३१ पेजको प्रोट्रोकलमा खेलाडीलाई मैदानमै आफ्नो जर्सी उतार्न निषेध गरिएको छ । रिपोर्टअनुसार खेलपछि मैदानमै जर्सी साटेको पाइएमा एक खेलको प्रतिबन्ध र १२ दिन क्वारेन्टाइनमा बस्नुपर्ने सजाय हुन सक्छ । यसैले अब उनले फाइनल खेल गुमाउनसक्ने देखिएको छ ।

पीएसजीले फाइनलमा जर्मन क्लब बायर्न म्युनिख र फ्रेन्च क्लब लियोनबीचको विजेतासँग उपाधिका लागि खेल्नेछ । बायर्न र लियोनले आज राति दोस्रो सेमिफाइनल खेल खेल्दैछन् । फाइनल खेल भने २३ अगस्टमा हुनेछ ।

Loading...