बुबाप्रति समर्पित म्युजिक भिडियो ‘बाबा’ सार्वजनिक (भिडियोसहित)

विराटनगर, ३ भदौ । बुबाको मुख हेर्ने दिनको अवसर पारी बुबाप्रति समर्पित म्युजिक भिडियो ‘बाबा’ सार्वजनिक भएको छ । गायक सुरेश ढुंगानाको गीत तथा म्युजिक भिडियो बुधबार युटुबबाट सार्वजनिक भएको हो ।

सत्य–स्वरूपको संगीत रहेको सो गीतमा कुमार खत्रीको शब्द रहेको छ । आमोष तामाङले एरेन्ज गरेको सो गीतको म्युजिक भिडियोमा कमलमणि नेपाल र सागर दाहालको अभिनय छ । म्युजिक भिडियोमा बालकलाकार सौर्य देवकोटाको पनि अभिनय छ ।

पाना आर्ट्सले पोष्ट प्रडक्सन गरेको उक्त गीतको म्युजिक भिडियोको निर्देशन लक्ष्मी बर्देवा र जीवन भट्टराईले गरेका हुन् ।

गीतले आफ्ना सन्तानका लागि पिताको योगदान र समर्पणको कथा बोलेको गायक ढुंगानाले बताएका छन् । आमाका बारेमा धेरै गीत, संगीत तथा साहित्य सिर्जना भए पनि त्यसको तुलनामा ‘बा’ को बारेमा धेरै कम लेखिएको हुँदा एउटा पिताले सन्तानको लागि गरेको संघर्षको विषय आफ्नो रोजाइमा परेको र गीत संगीतमार्फत दर्शक तथा श्रोतासामु ल्याएको उनको भनाइ छ ।

गीत पूर्णरूपमा पिताप्रति समर्पित भएको हुँदा कुशे औंशीको (बुवाको मुख हेर्ने दिन) दिन सार्वजनिक गरिएको गायक ढुंगानाले बताए । गीतमा पिताको शक्ति, ज्ञान, मेहेनत, विश्वास र इच्छाको चर्चा गरिएको छ ।

Loading...