उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञा जारी

काठमाडौं, ३ भदौ । काठमाडौं उपत्यकामा कोभिड १९ संक्रमणको स्थिति बढ्दै गएपछि तीनवटै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेका छन् ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि मानिसहरुको आवागमन ठप्प नपारे विकराल अवस्था आउन सक्ने देखिएको भन्दै तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबारको बैठकले बुधबार मध्यरातदेखि उपत्यकामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले पूर्व सावधानीको रुपमा काठमाडौं उपत्यकामा तत्कालै मानिसको आवागमनलाई ठप्प नपार्ने हो भने विकराल अवस्था आउन सक्ने देखिएपछि तीनवटै जिल्लाको सुरक्षा समितिको बैठक बसेर निषेधाज्ञा जारी गरिएको बताए ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि संक्रामक रोग ऐन, २०२० को दफा २ एवं स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) बमोजिम बुधबार राती १२ बजेदेखि भदौ १० गते राती १२ बजेसम्मका लागि काठमाडौं उपत्यकाभर अत्यावश्यक सेवाबाहेकका सबै सेवासहित मानिसहरुको आवागमनसमेत बन्द गर्ने गरी निषेधाज्ञा जारी गरेको हो ।

निषेधाज्ञाको अवस्थामा औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदको काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन पाइने छैन । अत्यावश्यक सेवा तथा वस्तुबाहेकका सबै प्रकारका व्यापार व्यवसाय सञ्चालन गर्न पनि पाइने छैन । अत्यावश्यक सामग्रीलगायतका मालबाहक ढुवानीका सवारीसाधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारीसाधनबाहेक काठमाडौं उपत्यकाभित्र सवारीसाधन प्रवेश गर्न नदिने र जिल्लाभित्र पनि सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुबाहक सवारीसाधन सञ्चालन गर्न नपाउने गरी आदेश जारी गरिएको दाहालले बताए ।

त्यस्तै कोभिड १९ को रोकथाम, उपचार तथा व्यवस्थापनसम्बन्धी कार्यमा खटिनु पर्ने र अत्यावश्यक सेवा भनी नतोकिएका तर नियमित सेवा प्रदान गर्नु पर्ने कार्यालयमा आउन र जानका लागि बिहान ९ बजेदेखि साढे १० बजेसम्म र बेलुकी ३ बजेदेखि साढे ५ बजेसम्म आवागमन गर्न दिने भएको छ ।

अत्यावश्यक वस्तु तथा सेवाअन्तर्गत औषधि, खाद्यवस्तुु, इन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफूल, दूध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन, अस्पताल जाने–आउने बिरामी र मृत्यु संस्कारका लागि प्रयोग गर्ने सवारीसाधनका लागि पूर्वअनुमति आवश्यक पर्ने छैन ।

मेला, महोत्सव, जात्रा सञ्चालन गर्न, भेला हुन, भिडभाड गर्न, सभा जुलुस गर्न नपाउने निर्णय पनि भएको छ । त्यस्तै परम्परागतरुपमा भई आएको दैनिकरुपमा हुने आन्तरिक नित्य पूजाबाहेकका सम्पूर्ण धार्मिक, सांस्कृतिक गतिविधिहरु सञ्चालन तथा जमघट गर्न पाइने छैन । शैक्षिक संस्थाहरु, प्रशिक्षण केन्द्रहरु, ट्युसन सेन्टर, भाषा कक्षालगायतका क्रियाकलापमहरु सञ्चालन गर्नसमेत निषेध गरेको छ ।

सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरन्जनस्थल, सैलुन, व्यूटीपार्लर, स्पा, स्विमिङपुल, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय, चिडियाखानासमेत सञ्चालन गर्न पाइँदैन । फुटपाथ र ठेलागाडा वा साइकलमा सञ्चालन हुने व्यवसाय, कवाडी संकलन, होटल, रेष्टुँरासमेत सञ्चालन गर्न पाइने छैन । बैंकिङ सेवाका लागि भने भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन र सम्भव नभएमा न्यूनतम कर्मचारी राखेर सेवा प्रवाह गर्ने व्यवस्था मिलाउनसमेत आदेश गरेको छ ।

Loading...