फाइनलका लागि लियोनसँग भिड्नुपर्ने सिल्भाको संकेत

एजेन्सी, ३ भदौ । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का डिफेन्डर थियागो सिल्भाले च्याम्पियन्स लिगको उपाधिका लागि लियोनसँग भिड्नुपर्ने संकेत गरेका छन् ।

च्याम्पियन्स लिगको उपाधि नजिक पुगेपछि पत्रकारसँग कुरा गर्दै ब्राजिलियन स्टार सिल्भाले पीएसजी उपाधिका लागि फ्रेन्च क्लबसँग प्रतिस्पर्धा गर्नुपर्ने संकेत गरेका हुन् ।

मंगलबार राति भएको सेमिफाइनल खेलमा जर्मन क्लब आरबी लेइपजिगमाथि ३–० गोलको जित निकाल्दै पीएसजी पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुग्यो ।

पोर्चुगलको राजधानी लिस्बोनस्थित स्टेडियो डा लुजमा भएको पहिलो सेमिफाइनल खेलमा पीएसजीलाई जिताउन मार्किन्होस, एन्जल डी मारिया र जुआन बर्नाट भेलास्कोले समान एक–एक गोल गरेका थिए ।

अब, पीएसजीले फाइनलमा जर्मन क्लब बायर्न म्युनिख र फ्रेन्च क्लब लियोनबीचको विजेतासँग उपाधिका लागि खेल्नेछ । बायर्न र लियोनले आज राति दोस्रो सेमिफाइनल खेल खेल्दैछन् ।

फाइनल खेल भने २३ अगस्टमा हुनेछ । यस खेलमा लियोनसँग खेल्नुपर्ने सिल्भाले संकेत गरेका हुन् । ‘हामीलाई फाइनल पुग्न त्यति सजिलो थिएन’, सिल्भाले आरएमसी मिडियासँग बोल्दै भने, ‘यहाँ केही कठिन समय थियो । तर, हामी फाइनलको हकदार थियौं । हामीले स्पष्ट खेल्यौं । ऐतिहासिक रह्यो तर यो नै अन्त्य होइन । आइतबारसम्म उपाधि छिनोफानो हुनेछ ।’

‘म आशा गर्छु कि उपाधिसम्म हामी सबै आनन्दका साथ संगै हुन्छौं । म यसैका लागि पीएसजी आएको हुँ । अब हामी फाइनलमा छौं र अब अझै अगाडि बढ्नु छ । बायर्नका लागि कठिनाइ हुन सक्छ, किनकि पछिल्लो समय लियोनले धेरै राम्रो खेलिरहेको छ,’ उनले भने ।

यसअघि पीएसजी र लियोनले फ्रेन्च लिगको सेमिफाइनलमा र फ्रेन्च लिग कपकाे फाइनलमा प्रतिस्पर्धा गरेका थिए । दुवैपटक पीएसजीले लियोनमाथि जित निकालेकाे थियो । तर, फ्रेन्च लिग कपकाे फाइनलमा भने लियोनले पीएसजीमाथि दबाब सिर्जना गरेकाे थियो ।

लियोन र पीएसजीबीचकाे खेलकाे निर्धारित र अतिरिक्त सयम गाेलरहित बराबरीमा सकिएपछि ट्राइबेकरमा धकेलिएकाे थियो, जहाँ पीएसजीले ६-५ को जित निकालेर सिजनकाे तेस्राे उपाधि जितेकाे थियो ।

सिल्भाले यसै सिजन पीएसजी छोड्ने मनसाय बनाएका छन् । ८ वर्षको पेरिस बसाइमा ३०० खेल खेलेका उनले आफूले पीएसजीबाटै करिअर अन्त्य गर्न चाहेको बताउँछन् ।

‘म पीएसजीबाटै करिअरको अनत्य गर्न चाहन्थेँ । यो वर्ष हामी सन्तुलनमा छौं र धेरै नै प्रतिस्पर्धी भएका छौं । कुन टिमले च्याम्पियन्स लिगको उपाधि जित्नेछ, सबैलाई थाहा हुनेछ’, उनले थपे ।

Loading...