Rumpum

Rumpum Advertisement

निर्मलाको लागि कवितामार्फत् न्याय माग्दै नाजिर

निर्मलाको लागि कवितामार्फत् न्याय माग्दै नाजिर

विराटनगर, ३ भदौ । करिब दुई वर्षअघि बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तको न्यायका लागि ‘डिजिटल आन्दोलन’ सुरु भइरहेको छ ।

सामाजिक सञ्जालमा निर्मलालाई न्याय दिनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलगायत नेपालका शीर्ष नेता, पत्रकार तथा नाम चलेका मानिसहरूको प्रोफाइल फोटोमा प्रयोगकर्ताहरूले कमेन्ट गरिरहेका छन् भने नेपाली चलचित्रका कलाकारहरूले पनि आफ्नो आफ्नो ठाउँबाट आवाज उठाइरहेका छन् ।

यस्तैमा नायक तथा मोडल नाजिर हुसेनले निर्मलाको हत्यारा पत्ता लगाउन र दोषीमाथि कडा कारवाहीको माग गर्दै सामाजिक सञ्जाल फेसबुकमा निकै मार्मिक कविता सार्वजनिक गर्दै सरकारलाई दबाब दिएका छन् ।


एक समय अदालतमा
अर्डर–अर्डर भन्दै गाभल बजेको थियो
न्यायमूर्तिको हातमा झुन्डिएको बाङ्गो तराजुले
सिधा न्याय गरेको थियो त ?


बाको मुटु चक्नाचुर भएर फुटेको कस्ले देख्यो ?
एक त्यान्द्रो आशा बोकेर ढोकादेखि ढोकासम्म पुगेको
बाको नाङ्गो पैतालालाई कस्ले देख्यो ?
आमाको कोख रित्तिएको कस्ले देख्यो र यहाँ ?
दोबाटो, चौबाटोमा छाती पिट्दै रोइरहेकी
आमाको आँसुलाई कस्ले पुछ्यो र यहाँ ?
एउटा नौजवान युवतीको सपनाहरू
भताभुङ्ग भएको कस्ले नै देख्यो र ?
देख्नु भो त तपाईंले ?


तपाईंको न्यायमूर्तिले त देख्दैन
तपाईंले के देख्नु हुन्छ
हो हजुर म, म नै भएर त्यहीँ निर्मलाको कुरा गरिरहेको छु
जस्को मृत शरीरबाट गन्हाउने बासी विर्य
अझै पनि हाम्रो मस्तिष्कमा ताजै भएर
डुङडुङ्ती गन्हाइरहेको छ
के तपाईंलाई गन्हाएको छैन ?


महासय,
मुटुमा हात राखेर भन्नुस् त !
तपाईंको अदालतमा न्यायमूर्तिको हातमा
झुन्डिरहेको त्यो बाङ्गो तराजुले
सिधा न्याय गर्यो त आजसम्म ?