नेयमारलाई फाइनल खेलमा प्रतिबन्ध लाग्नसक्ने

एजेन्सी, ३ भदौ । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्ट्राइकर नेयमारलाई च्याम्पियन्स लिगको फाइनल खेलमा प्रतिबन्ध हुन सक्ने देखिएको छ ।

मंगलबार राति भएको सेमिफाइनल खेल सकिएलगत्तै जर्सी साटासाट गरेका नेयमारलाई युरोपेली फुटबल महासंघ (यूईएफए)ले एक खेलको प्रतिबन्ध लगाउन सक्नेछ ।

पहिलो सेमिफाइनल खेलअन्तर्गत पीएसजीले जर्मन क्लब आरबी लेइपजिगमाथि ३–० गोलको जित निकालेको थियो ।

पोर्चुगलको राजधानी लिस्बोनस्थित स्टेडियो डा लुजमा भएको खेलमा जित निकालेसँगै पीएसजी पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुग्यो ।

पीएसजीलाई जिताउन मार्किन्होस, एन्जल डी मारिया र जुआन बर्नाट भेलास्कोले समान एक–एक गोल गरेका थिए । जसमा, डी मारियाले दुई असिस्ट तथा ब्राजिलियन स्टार नेयमारले एक असिस्ट गरेका थिए । नेयमारको ब्याक पासमा एन्जल डी मारियाले गोल गरेका थिए ।

खेल सकिएलगत्तै नेयमारले जर्मन क्लबका डिफेन्डर मार्सेल हेलस्टेनबर्गसँग क्यामेराको अगाडि नै जर्सी साटासाट गर्दै यूईएफएको कोरोना प्रोट्रोकलको नियम तोडेका थिए । यूईएफएको ३१ पेजको प्रोट्रोकलमा खेलाडीलाई मैदानमै आफ्नो जर्सी उतार्न निषेध गरिएको छ ।

रिपोर्टअनुसार खेलपछि मैदानमै जर्सी साटेको पाइएमा एक खेलको प्रतिबन्ध र १२ दिन क्वारेन्टाइनमा बस्नुपर्ने सजाय हुन सक्छ । यसैले अब उनले फाइनल खेल गुमाउनसक्ने देखिएको छ ।

अब, पीएसजीले फाइनलमा जर्मन क्लब बायर्न म्युनिख र फ्रेन्च क्लब लियोनबीचको विजेतासँग उपाधिका लागि खेल्नेछ । बायर्न र लियोनले आज राति दोस्रो सेमिफाइनल खेल खेल्दैछन् ।

फाइनल खेल भने २३ अगस्टमा हुनेछ ।

Loading...