वीरगञ्जमा कोरोनाबाट थप दुई पुरुषको मृत्यु

वीरगञ्ज, ३ भदौ । वीरगञ्जमा कोरोना संक्रमणबाट थप दुईको मृत्यु भएको छ । अस्थायी कोभिड अस्पतालमा उपचाररत ८४ र ५७ वर्षीय दुई पुरुषको मृत्यु भएको पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए ।

उनका अनुसार वीरगञ्ज महानगरपालिका–४ बिर्ताका ८४ वर्षीय पुरुष र वीरगञ्ज भिस्वाका ५७ वर्षीय पुरुषको गए राति मृत्यु भएको हो । २७ साउनदेखि नारायणी अस्पतालको अस्थायी कोभिड गण्डक अस्पतालमा कोरोना संक्रमण पुष्टि भई उपचारका लागि भर्ना भएका ८४ वर्षीय पुरुषको गए राति साढे १० बजे मृत्यु भएको थियो ।

यस्तै वीरगञ्ज भिस्वाका ५७ वर्षीय पुरुषको हिजो साँझ उपचारको क्रममा नारायणी अस्पतालमा मृत्यु भएको थियो । मृतकको नारायणी अस्पतालको प्रयोगशालामा जिन एक्सपर्ट टेस्ट गर्दा नतिजा कोरोना पोजेटिभ आएको प्रमुख जिल्ला अधिकारी तामाङले बताए ।

यससँगै पर्सामा मात्रै कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या २३ पुगेको छ ।

Loading...