प्रदेश १ मा कोरोना : मोरङमा संक्रमितको संख्या हजारमाथि, दुई जिल्लामा संक्रमण शून्य

विराटनगर, ३ भदौं । समुदायस्तरमा संक्रमण देखिएको मोरङमा कोरोना संक्रमितको संख्या एक हजार एक सय २५ पुगेको छ । प्रदेश १ का १४ जिल्लामा कोरोना संक्रमितको संख्या दुई हजार दुुई सय ३२ छ । जसको आधा संक्रमित मोरङ जिल्लामा छन् ।

मोरङको विराटनगर महानगरपालिका कोरोना महामारीका कारण अति प्रभावित छ । जिल्लाका १ हजार एक सय संक्रमितमध्ये विराटनगर मात्रै ६९० संक्रमित छन् । विराटनगरपछि कोरोना संक्रमणका कारण रंगेली नगरपालिका र बुढीगंगा गाउँपालिका प्रभावित छन् ।

प्रदेश १ सामाजिक विकास मन्त्रालका अनुसार १४ जिल्लामध्ये कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी मोरङ प्रभावित बनेको छ । मोरङमा संक्रमण पुष्टि भएकामध्ये ७४५ जना उपचाररत छन् । संक्रमणका कारण १२ जनाको मृत्यु भइसकेको छ ।

मोरङपछि झापा, सुनसरी र उदयपुर प्रभावित बनेका छन् । प्रदेश १ का दुई पहाडी जिल्ला संक्रमणमुक्त छन् ।

सोलुखुम्बु र भोजपुर संक्रमणमुक्त भएका हुन् । सोलुमा संक्रमण देखिएका सात र भोजपुरमा संक्रमण पुष्टि भएका छजना संक्रमणमुक्त भएका छन् ।

झापामा संक्रमित संख्या चार सय ५० पुगेको छ । सुनसरीमा तीन सय ३९, उदयपुरमा एक सय दश, इलाममा ८१, खोटाङमा १९, ओखलढुंगामा १८, धनकुटामा १७, ताप्लेजुङमा १२, तेह्रथुममा नौ, पाँचथर सात र संखुवासभामा पाँचजनालाई संक्रमण देखिएको छ ।

प्रदेश १ मा एक हजार १३३ जना उपचारपछि निको भएका छन् । एक हजार ८४ जना उपचाररत छन् । जसमध्ये १३६ महिला हुन् ।

हजार संक्रमित कट्ने देशका पाँच जिल्ला

स्वास्थ्य तथा जनसंख्या मन्त्रालका अनुसार एक हजार कोरोना संक्रमित कटेका देशभर पाँच जिल्ला छन् । मोरङ, रौतहट, पर्सा, महोत्तरी र काठमाडौं जिल्लामा संक्रमितको संख्या एक हजार माथि छ ।

नेपालका चार जिल्ला संक्रमणमुक्त छन् । मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा कोरोना संक्रमण शून्य रहेको मन्त्रालय जानाएको छ ।

Loading...