आज कुशे औंसी अर्थात बुवाको मुख हेर्ने दिन

विराटनगर, ३ भदौ । आज (बुधबार) कुशे औंसी । भाद्र कृष्ण औैंसीका दिन वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृ कार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्राउने गर्छन् ।

शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु¥याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । ‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुरूप कुशे औंसीलाई बुवाको मुख हेर्ने दिन पनि भनिन्छ ।

नेपालमा प्रत्येक वर्ष कुशे औंसी पुजनीय बुवालाई सम्मान प्रकट गर्दै मनाउने चलन छ । छोराछोरीहरूले आफ्ना बुवालाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्ने विश्वास छ । यसदिन आफ्न जन्म दिने बुवालाई भेटेर आर्शिवाद लिने, उपहार दिने तथा मिठामिठा परिकारहरु खान दिने गरिन्छ ।

प्रविधिको विकास र सञ्चारको पहुँचसँगै प्रत्यक्ष बुवासँग भेटघाट गर्न नसक्नेहरुले सामाजिक सञ्जाल र टेलिफोनमार्फत पनि सम्झने गर्छन् ।

बुवा नहुनेहरूले विभिन्न धार्मिक तीर्थस्थलहरुमा गएर बुवाको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् । विभिन्न धार्मिक तीर्थस्थलहरुमा बुवालाई श्रद्धा गर्नेहरुको विगतमा भीड लाग्ने गरेको थियो । तर यस वर्ष कोरोना भाइरसको महामारीका कारण मन्दिरहरु सुनसान छन् ।

सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्ने गर्छन् ।

Loading...