बुबा नभएको घर (कविता)

रामप्रसाद पौडेल

पिँढीको डिलमा बसेर पिच्चपिच्च आँगनमा थुक्दै
ठूलाठूला सपनाहरू सजाएको मलाई अलिअलि याद छ
काया गल्दै गएर बुढो सिमलजस्तो भइसक्दा पनि
परिवारको निम्ति नचुहिने ओत र एकमाना चामलको
लाज ढाक्ने एकसरो कपडा र एक निन्द्रा सुत्ने सुकुलको
मर्दा अरूले दुत्कार्न नआओस् भनी अन्तिम स्वास फेर्न
एकधुर लालपुर्जाको सपना देख्दादेख्दै गर्लम्म ढलेको
मेरो परिवारको इतिहास मलाई अलिअलि याद छ ।

अहिले सम्झन्छु
परिवारमा बाबु हुनु भनेको
युद्ध लड्न निस्केको सिपाहीको टुकुडीमा
छाती थापेर गोली खान तयार बहादुर सिपाही हुनु हो
लर्खराउँदै हिँड्ने अभ्यासमा खुट्टा नथामिएर लड्न खोज्दा
च्याप्प समातेर काँधमा बोक्ने बलियो सहारा हुनु हो
बाबु हुनु भनेको मेरो खुशीमा उन्मत्त हाँसो हाँस्ने ओठहरू हुनु हो
मेरो दुःखमा निचोरिएर भित्रभित्रै रूने मनहरू हुनु हो
मलाई हेरेर सपनाको महल ठड्याउने स्वप्नदर्शी योद्धा हुनु हो
जीवन खिइएर पातलो पातलो हुँदै जाँदासमेत
नयाँ जीवनको परिभाषा खोज्ने जीवनद्रष्टा हुनु हो ।

अहिले सम्झन्छु
बुबा नभएको घर
बत्ती बालेर झलमल्ल पारिएको त हुन्छ,
तर त्यहाँ उज्यालो तेज हुँदैन
छरपष्ट छरिएका परिवारका टाउकाहरू हुन्छन्
तर त्यहाँ शिर हुँदैन
एकता र आँट हुँदैन,
सबैलाई समेटेर एकमुष्ट हाँस्न सक्ने ओठ हुँदैन
सबैलाई हृदयमा अटाएर रून सक्ने आँखा हुँदैन
उजाडिएका सपनाहरू, टुक्रिएका भावनाहरू
परिवारका सदस्यहरूमै मत मतान्तर ।

बुबा नभएको घर
गाइनेले रेट्न छोडेर मिल्काएको सारंगीको तारजस्तो हुन्छ
ग्रहणले ढाकेर तेज लुटेको सूर्यको उज्यालोजस्तो हुन्छ
वर्षौंसम्म नगाइएर मृत बनाइएको मृत्युधुन जस्तो हुन्छ
साँचै बुबा नभएको घर भर्खरै लास दफनाएर फर्किएको मसानजस्तो हुन्छ ।

Loading...