Rumpum

Rumpum Advertisement

रियल मड्रिडको रेकर्डसँग पीएसजीको बराबरी

रियल मड्रिडको रेकर्डसँग पीएसजीको बराबरी

एजेन्सी, ३ भदौ । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले युरोपियन च्याम्पियन्स लिगमा रियल मड्रिडको कीर्तिमानसँग बराबरी गरेको छ ।

मंगलबार राति भएको पहिलो सेमिफाइनल खेलमा जर्मन क्लब आरबी लेइपजिगमाथि जित निकाल्दै पहिलो पटक च्याम्पियन्स लिगको फाइनल प्रवेश गरेको पीएसजीले रियलको रेकर्डसँग बराबरी गरेको हो ।

पोर्चुगलको राजधानी लिस्बोनस्थित स्टेडियो डा लुजमा भएको खेलमा पीएसजीले लेइपजिगमाथि ३–० गोलको जित निकालेको हो । पीएसजीलाई जिताउन मार्किन्होस, एन्जल डी मारिया र जुआन बर्नाट भेलास्कोले समान एक–एक गोल गरेका थिए ।

यससँगै पीएसजीले लगातार ३४ खेलमा गोल गर्ने रियलको कीर्तिमानसँग बराबरी गरेको हो । सन् २०१६ को च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीसँग १–० गोलको हार ब्यहोरेयता पीएसजीले लगातार ३४ खेलमा विपक्षीविरुद्ध गोल गर्दै आइरहेको छ ।

यसअघि रियल मात्र ३४ खेलमा लगातार गोल गर्ने एउटै टोली थियो । रियलले सन् २०११ देखि २०१४ सम्म लगातार ३४ खेलमा विपक्षी टोलीविरुद्ध लगातार गोल गर्दै आएको थियो ।
जितसँगै पीएसजी इतिहासमै पहिलोपटक च्याम्पियन्स लिगको फाइनल पुगेको हो । यसअघि सन् १९९४–९५ को सिजनमा इटालियन क्लब एसी मिलानसँग सेमिफाइनलमा पराजित भएको थियो ।

यता, १२ वर्षअघि मात्र स्थापित लेइपजिगको च्याम्पियन्स लिगको यात्रा सेमिफाइनलसम्म मात्र आइपुग्यो ।

अब, पीएसजीले फाइनलमा जर्मन क्लब बायर्न म्युनिख र फ्रेन्च क्लब लियोनबीचको विजेतासँग उपाधिका लागि खेल्नेछ । बायर्न र लियोनले आज राति दोस्रो सेमिफाइनल खेल खेल्दैछन् ।

फाइनल खेल भने २३ अगस्टमा हुनेछ ।