उडान रद्द गरिँदा आप्रवासी नेपाली मर्कामा

विराटनगर, ३ भदौ । सरकारले विदेशमा अलपत्र नेपालीको स्वदेश फिर्तीका लागि तय गरेको उद्धार उडान स्थगित गरेसँगै घर फर्कने तयारीमा रहेका नेपाली थप अन्योलमा परेका छन् ।

सरकारले विदेशबाट उद्धार गरेर ल्याउने उडान तत्काल स्थगित गरेको हो । सरकारले गठन गरेको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र
(सीसीएमसी) ले सोमबार गरेको निर्णयले सोमबारै संयु्क्त अरब इमिरेट्स (यूएई) बाट नेपाल वायुसेवा निगमको जहाज रित्तै फर्कियो । कोरोनाको जोखिम बढ्दै गएपछि गएको चैत पहिलो सातादेखि अन्तर्राष्ट्रिय उडान बन्द हुँदा हजारौँ नेपाली स्वदेश फर्कन पाएका छैनन् । उनीहरूले सरकारको पछिल्लो निर्णयबाट विदेशमा अलपत्र श्रमिक थप पीडामा भएको भन्दै विरोध गरिरहेका छन् ।

सरकारले आइतबारदेखि पाँचौँ चरणको उद्धार उडान तालिका सार्वजनिक गरेको थियो तर निर्णय सार्वजनिक भएको दुई दिनमै रद्द भयो ।

सरकारले जेठ ३२ गतेदेखि चार्टर उडान मार्फत श्रमिककै पैसामा स्वदेश फर्काउने प्रबन्ध मिलाएको छ । साउन ३१ गतेसम्म चार चरणमा झण्डै ५५ हजार नेपाली स्वदेश फर्किएका छन् ।

कतारमा तीन लाख ७२ हजार नेपालीमध्ये ठूलो सङ्ख्यामा फर्किन चाहेका छन् । हालसम्म पाँच हजार छ सय ६८ जना मात्र फर्किएका छन् । यस्तै साउदी अरबमा तीन लाख पाँच हजार नेपाली रहेकोमा सात हजार ८१७ जना फर्किएका छन् भने १२ हजार बढी अझै स्वदेश फर्किने आशमा छन् ।

संयुक्त अरब इमिरेट्स (यूएई) मा दुई लाख ७५ हजार श्रमिक रहेकोमा ६७ हजार ३१४ जना स्वदेश फर्किसकेका छन् । मलेसियामा तीन लाख २५ हजार रहेकोमा ३० हजार फर्किने सूचीमा छन् । सात हजार ६४२ फर्किएका छन् ।

यस्तै कुवेतमा ५० हजार नेपाली कार्यरत रहेकोमा २४ हजार स्वदेश फर्किन आतुर छन् । छ हजार ३२० जना मात्र फर्कन पाएका छन् । बहराइनमा ३५ हजार नेपाली रहेकोमा साढे १० हजार फर्किन चाहेका छन् । त्यहाँबाट ९८० जना मात्र फर्काइएको छ ।

ओमानमा फर्किने सूचीमा साढे तीन हजार रहेकोमा नेपाली दूतावासले जनाएको छ । दूतावासले ओमानमा समस्यामा परेकामध्ये प्राथमिकताका आधार विभिन्न चार्टर उडान मार्फत छ सय ७० नेपाली स्वदेश फर्काएको जनाएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ

Loading...