अलविदा राष्ट्रकवि माधव घिमिरे, सौन्दर्य लेखनको एउटा अध्यायमा पूर्णविराम

विराटनगर, ३ भदौ । ‘ऋतम्भरा नसिध्याई मर्दिन’ कत्रो आत्मविश्वास ‘मसँग काल पराजित छ’ राष्ट्रकवि निवास लैनचौरमा भेट्न पुग्नेहरुलाई राष्ट्रकवि माधवप्रसाद घिमिरेले भन्ने गर्थे ।

उनले एक सर्ग बाँकी छ, केहीको परिमार्जन गर्नुछ भनेर जानकारी गराउँथे। तर सबैका प्रिया राष्ट्रकवि घिमिरेले एकलब्य, एकचित्त र निरन्तरताका साथ एउटा महायात्रा बिसाइ दिएका छन् । अब उनले भन्ने छैनन् म ऋतम्भरा पूरा गर्नेछु । त्यसो त उनले सम्पूर्ण जीवन नै ऋतम्भराको यात्रा थियो, चित्तवृत्ति निरन्तरता र सत्य स्वीकार । कविजीले सत्य स्वीकार गरे ।

कालसँग पराजित भएनन् तर घिमिरेले सम्झौता गरिदिए २०७७ भदौ २ गते साँझ ।’ बाहुनडाँडाको पुस्तुनबाटमा सुरु भएको ऋतम्भराले लैनचौरमा महापरिनिर्माण लियो ।

घिमिरेको निधन मंगलबार साँझ आफ्नै निवास लैनचोरमा भएको खवरले नेपाल र नेपाली स्तब्ध छन् । सबैलाई भावुक बनाएको छ । उनको निधनसँगै परिष्कारवादी सौन्दर्य लेखनको एउटा अध्यायमा पूर्णबिराम लागेको छ । लक्ष्मीप्रसाद देवकोटा र लेखनाथ पौड्याल जोड्ने साँघु भत्केको छ ।

शताब्दी पूर्व १९७६ साल असोज ७ गते लमजुङ जिल्लाको पुस्तुनमा उम्रिएको बिरुवा राजधानीमा झाङियो । फुल्यो र फल्यो । फल्नुको सत्य झर्नु पनि थियो । झ¥यो ऋतम्भराको सन्देशमा । सत्यको अठोटमा र विश्वासमा ।

माधवप्रसाद सिर्जित हरियो वन थियो निर्मित वाटिका मात्र होइन । अथाह क्षेत्रफलमा फैलिएको पुस्तुनको हरियो वनमा के उपलब्ध थिएन ? कविता, गीत, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद, लेख, प्रबन्ध, संस्मरण । अक्षरका लता रहरामै पहराले गाइएका स्वर थिए घिमिरे । नेपाली स्वाद थिए घिमिरे ।

विक्रम संवत १९९२ को गोरखापत्रमा १४ वर्षे लोर्के जोबानमा छपाएको कविता ज्ञानपुष्पबाट लेखकीय यात्रा गरेका कविजी २००१ सालमा गोरखापत्रमै सहायक सम्पादक भएर अक्षरको किसानीमा थप सक्रिय बनेका थिए । जीवनको अन्त्यसम्म पनि अक्षर कै अक्षांशमा उनको यात्रा चलिरह्यो । निरन्तर, एकाग्रता, चित्ताग्र अर्थात् ऋतम्भरा ।

आँशुले लेखिएको गौरी वा आत्माले बोलेको ‘नेपाली हामी रहूँला कहाँ’कालजयी मात्र छैनन् लोकगेय पनि छन् । ‘नवमञ्जरी’, ‘घामपानी’, ‘नयाँ नेपाल’ र ‘किन्नरकिन्नरी’ जस्ता कविता सङ्ग्रहले नेपाली साहित्यको भकारी भरेका मात्र छैनन् सिंगारेका पनि छन् । स्वच्छन्द मा परिष्कारको पुट हालेर नेपाली छन्दको चुचुरो उचाल्ने उनले ज्योतिको पङ्खमार्फत् सुन्दर शान्त नेपाललाई लयदार बनाइदिए । गेय बनाइदिए । नेपालीका लागि साझा गीत मात्र होइन रीत पनि सिकाइदिए
थुतिन्छ पत्ता,जब खातबाट
सिध्दिन्छ शोभा,अनि फूलबाट
पारिन्छ सत्ता,जब खण्डखण्ड
रहन्छ के राज्य,त्यहाँ अखण्ड ?

मालती मङ्गलेमा नेपाली समाजलाई लल्कार्ने गीति नाटककार घिमिरेले हिमालपारि हिमालवारिमा देशको सौन्दर्य गाएका छन् । माटोको सुगन्धलाई मुटुले स्पन्दन गर्ने चैतन्य पुरुष घिमिरेले राष्ट्र निर्मातामा दोह¥याए
खोलेर ऐरा, मृग एक मारी
बाँडी कलेजो, जति छन् शिकारी
बिलो लिएझैं सरमा उनेर
यो राज्य बाँडने चिज हैन हेर ।

किन्नर–किन्नरी, राजेश्वरी, इन्द्रकुमारी, चारुचर्चा, आफ्नो बाँसुरी आफ्नै गीत नेपालीका लागि छाडेर गएका घिमिरे आशावादी र सकारात्मक सोचका स्रष्टा र स्रोत थिए । केही नयाँ काम गर्न उत्सुक कविले युवा पुस्तालाई प्रेरणा दिएका छन् ।

रामविलास रचना १९९५ बाट खण्डकाव्यको यात्रा सुरु गरेका कवि घिमिरेको २०१५ मा प्रकाशित गरेको गौरी खण्डकाव्य सबैभन्दा चर्चित खण्डकाव्य हो । घिमिरेद्वारा लिखित ऋतम्भरा महाकाव्य उनको अपूर्ण कृति हो । त्यस्तै, पापिनी आमा (२०१७०, राजेश्वरी (२०१७), राष्ट्रनिर्माता (२०२३) धर्तीमाता (२०३०) जस्ता काव्यसंग्रहहरू, मालतीमङ्गले (२०३५), शकुन्तला (२०३३), हिमालवारि हिमालपारि (२०५४) जस्ता गीतिनाटकहरू घिमिरेलाई जीवन्त राख्ने साहित्यिक रचनाहरू हुन् ।

उनलाई २०६० साल असोज ७ गते तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले छन्द शिरोमणिको उपाधिबाट अभिनन्दन गरेका थिए । त्यसको तीन दिनपछि उनलाई राष्ट्रकविको रूपमा अभिनन्दन गरिएको हो ।

राष्ट्रकवि माधवप्रसाद घिमिरेले आफू बितेपछि मात्रै सार्वजनिक गर्न भनी रेकर्ड गराएको ‘त्यसरी होओस् मरण’ बोलको श्रव्य सामग्री राससलाई प्राप्त भएको छ । घिमिरेले उक्त गीत आफू बितेपछि परिवारले सुन्न र सबै सञ्चारमाध्यमलाई उपलब्ध गराइदिन आग्रह गरेका थिए । छोरी शान्ति अधिकारीको परिकल्पना र संगीतमा पहिल्यै रेकर्ड गराएका थिए।

गीतमा कर्ण दासको स्वर छ । घिमिरेका नातिनीज्वाइँ डा. प्रकाश भट्टराईले उक्त बोलको गीतको अडियो सबै सञ्चारमाध्यमलाई उपलब्ध गराइदिन आग्रह गर्दै राससका समाचारदाता प्रकाश सिलवालमार्फत उपलब्ध गराएका हुन् । डा. भट्टराईले केही अनलाइनले आफ्नो मात्रै एकाधिकार र स्वामित्व जस्तो अर्थ लाग्ने गरी गीत सार्वजनिक गराएकामा आपत्ति प्रकट गरेका छन् ।

राष्ट्रकविको गीत

“त्यसरी होओस् मरण
जसरी सुत्छन् तारमा गीतका चारु चरण
हिमालचुली देशमा, दिनको शान्त भेषमा
जसरी गर्छन् विश्राम, सूर्यका स्वर्ण किरण
त्यसरी होओस् मरण ।।
।।।
सुन्दर सृष्टि निहारी, सुखैले चिम्लूँ नयन
बिहानीपख रातको, कुसुम पारिजातको
जसरी जान्छ झरेर, भुइँमा विनापवन
त्यसरी होओस् मरण ।।
।।।
मुटुमा चोट नपरी, टुटेर जाओस् बन्धन
बादलको सेतो राशमा, दुइटा मूर्ति पासमा
जसरी शिर नुहाई, आफैंमा हुन्छन् अर्पण
त्यसरी होओस् मरण ।।
।।।
अमरापुरी सभामा आफैँलाई गरूँ वरण
त्यसरी होओस् मरण ।।”

बाँच्नुको अर्थ सास फेर्नुमा सीमित हुनुहुँदैन भन्ने उनको मान्यता थियो । निधन हुनु मर्नुको घटना मात्र होइन । मरेर पनि बाँच्नेहरूलाई निधन साख घटना हुनसक्दैन । नेपालीका स्वरमा, आँखा र मुटुमा छाइरहने, गाइरहने राष्ट्रकविले अन्तत मृत्युसँग हारेका छन् । फरक अबका दिन शरीरमा होइन सन्देशमा उनलाई भेट्न सकिने छ । गोरखापत्र र रासस

(नेपाली साहित्य र संगीत प्रेमी जनताले श्रद्धासाथ जुगजुगसम्म घिमिरेलाई सम्झिरहने छन् । नेपाली साहित्य र संगीत क्षेत्रको योगनाका क्रममा गरिएको सिर्जनाले घिमिरेलाई सधैं सम्झाइरहने छ । देह गए पनि सिर्जना जीवित रहने छन् । कोशी अनलाइन परिवारका तर्फबाट पनि घिमिरेप्रति हार्दिक श्रद्धाञ्जली ।)

Loading...