फाइनल प्रवेशका लागि बायर्न र लियोन भिड्दै

एजेन्सी, ३ भदौ । युरापको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा आज दोस्रो सेमिफाइनलमा खेल हुँदैछन् ।

नेपाली समयानुसार राति १२ः४५ बजेबाट सुरु हुने उक्त खेलमा जर्मन क्लब बायर्न म्युनिख र फ्रेन्च क्लब लियोनले खेल्दैछन् ।

पोर्चुगलको राजधानी लिस्बोनस्थित स्टेडियो जोसे अल्भालाडेमा हुने उक्त खेलमा दुवै क्लब एक–अर्कालाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा छन् ।

यसअघि बायर्नले स्पेनिस क्लब बार्सिलोनामाथि ८–२ गोलको फराकिलो जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको हो भने लियोनले इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो ।

जर्मन च्याम्पियन बायर्नले लियोनसँग युरोपियन लिगमा नवौंपटक खेल्न लागेको हो । नौमध्ये बायर्नले चार खेलमा लियोनमाथि जित निकालेको छ ।

च्याम्पियन्स लिगअन्तर्गत २००९–१० सिजनको सेमिफाइनलमा यी दुईबीचको भेट भएको थियो । जसमा बायर्नले समग्रमा ४–० को जित निकाल्दै फाइनलमा स्थान बनाएको थियो । योसहित बायर्नले १२औं पटक सेमिफाइनलमा स्थान बनाएको हो ।

बायर्न र लियोनबीचको विजेता टोलीले फाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग खेल्नेछ ।

पीएसजीले मंगलबार राति भएको पहिलो सेमिफाइनल खेलमा जर्मन क्लब आरबी लेइपजिगमाथि ३–० गोलको जित निकाल्दै पहिलो पटक युरोपियन च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाएको छ ।

फाइनल खेल भने २३ अगस्टमा हुनेछ ।

Loading...