मोरङकी काेराेना संक्रमित महिलाको धरानमा मृत्यु

विराटनगर, २ भदौ । मोरङकी एक कोरोना संक्रमित महिलाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको छ ।

मंगलबार बिहान करिब २ बजे प्रतिष्ठानमा भर्ना भएकी बुढीगंगा गाउँपालिका–२ की ६५ वर्षीया महिलाको मृत्यु भएको हो ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डाक्टर निदेश सापकोटाका अनुसार मंगलबार साँझ ५ बजे इमरजेन्सी कक्षमा महिलाकाे मृत्यु भएकाे हाे ।

उनका अनुसार मृतक महिलामा मुटु रोगको पनि समस्या थियो । श्वासप्रश्वासमा समस्या भएपछि आफन्तले मंगलबार नै अस्पताल पुर्‍याएका थिए ।

केही दिनयता स्वास्थ्यमा समस्या देखिएकी महिला २५ साउनमा विराट मेडिकल कलेजमा भर्ना भएकी थिइन् ।

२७ गते काेशी अस्तालमा भर्ना भएकी थिइन् । काेशीमा उनकाे स्वाब संकलन गरिएकाे थियाे । २९ गते नेगेटिभ रिपाेर्ट आएपछि उनी घरमा थिइन् ।

साेमबार स्वास्थ्य अवस्था गम्भीर भएपछि आफन्तले राति नै धरान लगेका थिए । धरानमा काेराेनासँग मिल्दाे-जुल्दाे लक्षण देखिएकाे पीसीआर जाँच गर्दा काेराेना पाेजेटिभ देखिएकाे डाक्टर सापकाेटाले जानकारी दिए ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमणका कारण ज्यान गुमाउको संख्या १६ पुगेको छ ।

ज्यान गुमाउनेमध्ये १२ जना मोरङका हुन् । संक्रमणका कारण ज्यान गुमाउनेमध्ये बुढीगंगा गाउँपालिका– २ का दुई जना छन् । चार जना दुई नम्बर प्रदेशका हुन् ।

Loading...