एकै दिन १ हजार १६ संक्रमित फेला परेपछि सीसीएमसीको आकस्मिक बैठक बस्यो

काठमाडौं, २ भदौ । देशभरि कोरोना भाइरस (कोभिड—१९) को संक्रमण बढ्दै गएपछि कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले आगामी रणनीतिको विषयमा छलफल गरेको छ ।

मंगलबार मात्रै १ हजार १६ जनामा संक्रमण देखिएपछि आकस्मिक रूपमा बसेको सीसीएमसी बैठकले आगामी रणनीतिको विषयमा छलफल गरेको हो । उपत्यकालगायत देशभरि नै संक्रमणको दर बढेपछि आगामी रणनीति के हुने भन्ने विषयमा छलफल भएपनि कुनै निर्णय भने नभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले बताए ।

बैठकमा विगतमा सरकारले गरेका निर्णय र ती निर्णयहरूको प्रभावकारिताका विषयमा छलफल भएको उनले बताए । संक्रमणको दर बढ्दै गएपनि आगामी रणनीति के हुने भन्ने विषयमा फरक(फरक धारणा आएकाले बुधबार पुनः बैठक बसी थप छलफल गरिने उनले बताए ।

सरकारले संक्रमणको अवस्था विश्लेषण गरी सम्बन्धित प्रमुख जिल्ला अधिकारीहरूले आफ्नो जिल्लामा आंशिक वा पूर्ण रूपमा निषेधाज्ञा गर्ने अधिकार दिएकाले त्यससम्बन्धी निर्णय पनि सम्बन्धि जिल्ला अधिकारीहरूले गर्ने उनले बताए ।

अहिलेसम्म देशका विभिन्न ४१ जिल्लामा पूर्ण वा आंशिक रूपमा निषेधाज्ञा जारी भएको उल्लेख गर्दै उनले उपत्यकाका हकमा के गर्ने भन्ने विषयमा सीसीएमसी बैठकमा छलफल नभएको बताए ।

निषेधाज्ञा जारी गर्ने–नगर्ने भन्ने विषयमा प्रमुख जिल्ला अधिकारीहरुले अधिकार प्राप्त गरेकाले सम्बन्धित क्षेत्रको अवस्थाको विषयमा विश्लेषण गरी निर्णय पनि प्रमुख जिल्ला अधिकारीले नै गर्ने उनले बताए ।

Loading...