Rumpum

Rumpum Advertisement

नेपालले साहित्य र वाङ्मयका एक विशिष्ट साधक गुमाएको छ : प्रधानमन्त्री ओली

नेपालले साहित्य र वाङ्मयका एक विशिष्ट साधक गुमाएको छ : प्रधानमन्त्री ओली

काठमाडौं, २ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

मंगलबार राति प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत् घिमिरेप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

ट्वीटरमा उनले लेखेका छन्, ‘राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०२ वर्षको उमेरमा आज दुःखद निधन भएको छ । उहाँको अवसानबाट नेपालले साहित्य र वाङ्मयका एक विशिष्ट साधक गुमाएको छ । साहित्यमार्फत उहाँले मुलुकलाई लगाउनु भएको गुण नेपाली जनताले कहिल्यै भुल्ने छैनन् ।’

घिमिरेको आज साँझ ५ बजेर ५५ मिनेटमा उनको निधन भएको हो । ७ असोज १९७६ मा लमजुङ जिल्लाको पुस्तुन भन्ने गाउँमा जन्मिएका घिमिरेले भारतमा बनारसको क्वीन्स विश्वविद्यालयबाट सर्वदर्शनमा शास्त्री गरेका थिए ।

उनी वि.सं. २०१४ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्य भएपछि आजीवन सदस्य, उपकुलपति, कुलपति भएर प्रज्ञाप्रतिष्ठानमा लामो समयसम्म सक्रिय रहिरहेका थिए ।

उनका नव मञ्जरी, गौरी (शोककाव्य), मालती मङ्गले (गीतिनाटक), हिमालपारि हिमालवारि (गीतिनाटक), राजेश्वरी, इन्द्रकुमारी, राष्ट्रनिर्माता, किन्नर–किन्नरी (गीतसंग्र्रह), चारु चर्चा (निबन्ध), आफ्नो बाँसुरी आफ्नै गीतलगायतका कृति सर्वाधिक चर्चित छन् ।

घिमिरेका दुई कृतिले साझा पुरस्कार पाएका छन् । २०५४ सालमा ‘हिमालपारि हिमालवारि’ र २०५८ सालमा चारु चर्चा’ कृतिका लागि साझा पुरस्कार पाएका हुन् । २०६७ सालमा उनले पद्मश्री साधना सम्मान पुरस्कार प्राप्त गरेका थिए ।

उनले ‘गाउँछ गीत नेपाली’, ‘फूलको थुंगा बगेर गयो गंगाको पानीमा’, ‘आजै र राति के देखेँ सपना’ जस्ता चर्चित गीत रचना गरेका थिए ।