Rumpum

Rumpum Advertisement

बार्सिलोनाका खेल निर्देशक अबिडाल पनि बर्खास्त

बार्सिलोनाका खेल निर्देशक अबिडाल पनि बर्खास्त

एजेन्सी, २ भदौ । बार्सिलोनाले आफ्ना खेल निर्देशक इरिक अबिडाललाई पनि बर्खास्त गरेको छ ।

मंगलबार सामाजिक सञ्जाल ट्वीटरमार्फत बार्सिलोनाले अबिडालसँगको सम्झौता अन्त्य गरेको जानकारी दिएको हो ।

यसअघि सोमबार मात्र बार्सिलोनाले प्रशिक्षक क्वीक सेटिनलाई बर्खास्त गरेको थियो । गत जनवरीमा मात्र बार्सिलोना आएका उनी सात महिनामै क्लबबाट बर्खास्तीमा परेका हुन् ।

पछिल्लो समय क्लबको निराशाजनक नतिजाका कारण बार्सिलोनामा उथलपुथल मच्चिएको छ । सन् २०१९–२० को सिजन उपाधिविहीन भए हुनु र प्रतिद्वन्द्वी क्लब रियल मड्रिडलाई ला लिगाको उपाधि सुम्पिनु, कोपा डेल रेको क्वार्टरफाइनलबाटै बाहिरिनु तथा च्याम्पियन्स लिगमा लज्जास्पद हारका कारण बार्सिलोनामा खैलाबैला मच्चिएको हो ।

सबैभन्दा ठूलो विषय बनेको छ, च्याम्पियन्स लिगअन्तर्गत जर्मन क्लब बायर्न म्युनिखसँगको ८–२ गोलान्तरको लज्जास्पद हार । यसै हारका कारण बार्सिलोनाले सेटिन र अबिडाल दुवैलाई बर्खास्त गरेको हो ।

बार्सिलोनाका पूर्वखेलाडीसमेत रहेका अबिडाल सन् २०१८ यता क्लबकाे खेल निर्देशकका रूपमा कार्यरत थिए ।