नबिल बैंकद्वारा आफ्ना ऋणीलाई छुट

विराटनगर, २ भदौ । नबिल बैंक लिमिटेडले आफ्ना ऋणीलाई शुन्य दशमलव २५ प्रतिशत छुट दिएको छ । कोरोना महामारीबाट आफ्ना ऋणी गम्भीर समस्यामा परेपछि बैंकले शून्य दशमलव २५ प्रतिशत छुट दिएको हो ।

ग्राहकमैत्री पहिचान बनाएको नबिल बैंकले साउनमा आफ्ना सबै ऋणी ग्राहकहरूलाई ०.२५ प्रतिशत ब्याज दर घटाएको छ । यस्तो छुट खराब कर्जाका ऋणीले प्राप्त गर्ने छैनन् । बैंकको यो प्रयासले ऋणीलाई राहत हुनेछ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले नबिल बैंकबाट ऋण लिएका व्यक्ति र संस्थागत ग्राहकहरूले भोग्नुपरेको निरन्तर कठिनाइलाई ध्यानमा राख्दै बैंकले आफ्ना सबै ऋणीलाई लाग्ने ब्याज दरमा ०.२५ प्रतिशत छुट दिएको जानकारी दिए ।

‘कुनै व्यक्तिको अटो वा होम लोन छ, वा कम्पनीले लिएको हाइड्रो ऋण छ वा बीचमा अन्य कुनै ऋण लिएको छ भने उसले यो सुविधा पाउने छ । तर, खराब ऋणीको सूचीमा रहेको वा समयमै ऋण चुक्ता नगरेको ऋणीले यो सुविधा पाउँदैनन्,’ उनले भने ।

हालै मात्र कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा निजी क्षेत्रका सबैभन्दा बढी रकम रु. ६ करोड हस्तान्तरण गरेको बैंकले आफ्ना दीर्घकालीन योजनामा सातै प्रदेशमा नबिल सरुवा रोग रोकथाम, नियन्त्रण तथा सहयोग केन्द्रका लागि अस्पताल निर्माण तथा उपचारमा सहयोग गर्न अघि बढ्ने योजनासमेत बनाएको छ ।

Loading...