वीरगञ्जमा कारोनाको सन्त्रास बढ्यो, ६२ जना संक्रमित बेपत्ता

वीरगञ्जमा कारोनाको सन्त्रास बढ्यो, ६२ जना संक्रमित बेपत्ता

वीरगञ्ज, २ भदौ । वीरगञ्जमा कोरोना संक्रमणको सन्त्रास बढ्दै गएको छ । ६२ जना संक्रमित बेपत्ता भएपछि वीरगञ्जमा कोरोनाको सन्त्रास बढ्दै गएको हो ।

कन्ट्याक ट्रेसिङको आधारमा नारायणी अस्पतालमा स्वाब संकलन गरी पिसीआर परीक्षण गराएकामध्ये वीरगंजका ६२ संक्रमित बेपत्ता रहेका छन् । आफ्नो नाम, ठेगाना र मोबाइल नम्बर गलत टिपाएको कारण उनीहरूको पहिचानमा समस्या भएको छ ।

संक्रमितहरूको कन्ट्रयाक ट्रेसिङको आधारमा नारायणी अस्पतालमा स्वाब दिन आएकामध्ये ६२ जनाले गलत मोबाइल नम्बर र ठेगाना टिपाउँदा संक्रमितको बसोबास रहेको स्थान पत्ता लगाउन अप्ठ्यारो भएको प्रहरीले जनाएको छ ।

नारायणी अस्पताल वीरगंजका वरिष्ठ चिकित्सक डा. निरज सिंहका अनुसार स्वाब संकलनको क्रममा टिपाएको टेलिफोन नम्बरमा अर्कै व्यक्तिले फोन उठाउने र संक्रमितको बारेमा पहिचान नहुँदा अस्पताल र प्रहरीलाई समेत हैरानी भएको छ ।

बेपत्ता रहेका संक्रमितका कारण समुदायमा थप संक्रमण बढ्ने सन्त्रास वीरगञ्जमा फैलिएको छ । वीरगञ्जमा संक्रमणको दर बढ्दै जाँदा स्वाब संकलन गर्नेहरूको संख्यासमेत बढ्दै गएको छ । तर महामारीको बेला संक्रमित व्यक्ति बेपत्ता हुनुले समाजमा कोरोना संक्रमण झन् भयाबह रूपमा बढ्दै जाने समस्या देखिएको डाक्टर सिंहले बताए ।

‘वीरगञ्जमा मात्रै ६२ जना संक्रमित सम्पर्कमा नआउनु भनेको ठूलो समस्या हो । यसतर्फ सम्बन्धित निकायको बेलैमा ध्यान जानुपर्छ’, डाक्टर सिंहले भने ।