Rumpum

Rumpum Advertisement

‘आदिपुरुष’ को फर्स्टलुक सार्वजनिक, रामको भूमिकामा प्रभास

‘आदिपुरुष’ को फर्स्टलुक सार्वजनिक, रामको भूमिकामा प्रभास

विराटनगर, २ भदौ । बाहुबली स्टार अभिनेता प्रभासको आगामी फिल्म ‘आदिपुरुष’ को फर्स्टलुक सार्वजनिक गरिएको छ ।

प्रभासले आफ्नो इन्स्टाग्राममार्फत फिल्मको फर्स्टलुक पोष्टर सार्वजनिक गरेका हुन् । पोष्टर सार्वजनिक गर्दै उनले खराबमाथि असलको जितको उत्सव मनाउँदै भनेर क्यापसन लेखेका छन् ।

पोष्टरको बीचमा भगवान रामले धनुष बोकेको देखिन्छ । पृष्ठभूमिमा ठूलो हनुमानको तस्विर र रावणका दस वटा टाउकाहरू पनि अटाइएका छन् ।

पोष्टरमा प्रभासलाई आदिपुरुषका रूपमा प्रस्तुत गरेको छ । हिन्दू पौराणिक कथाअनुसार भगवान रामलाई आदिपुरूष भनेर सम्बोधन गरिन्छ ।

भारतीय मिडियाहरूका अनुसार प्रभासले आदिपुरुषमा भगवान रामको भूमिका निभाउन लागेका हुन् । प्रभासले फिल्मको मुख्य भूमिकामा काम गर्न आफू उत्साहित रहेको बताएका छन् ।

खराबमाथि असलको जितको घटनाक्रममा केन्द्रित हुने फिल्म ‘आदिपुरुष’ भारतीय महाकाव्यको रूपान्तरण हो । अजय देवगनको मुख्य भूमिका रहेको ‘तन्हाजी: द अनसुन वारियर’ निर्देशन गरेका ओम राउतले आदिपुरुषलाई निर्देशन गर्दैछन् । फिल्मका अन्य कलाकारबारे भने जानकारी दिइएको छैन ।

थ्रीडी एक्शन ड्रामामा निर्माण हुने फिल्मलाई हिन्दी, तेलुगू, तमिललगायत विभिन्न भाषामा प्रदर्शन गरिने भएको छ । सन् २०२१ मा छायांकन हुने फिल्म सन् २०२२ मा ठूलो पर्दामा रिलिज गरिने छ ।