Rumpum

Rumpum Advertisement

मेस्सीलाई हिगुइनको चेतावनी : ‘प्रिमियर लिगका डिफेन्डरले लात हान्छन्’

मेस्सीलाई हिगुइनको चेतावनी : ‘प्रिमियर लिगका डिफेन्डरले लात हान्छन्’

एजेन्सी, २ भदौ । युभेन्टसका स्ट्राइकर गोन्जालो हिगुइनले राष्ट्रिय टोलीका कप्तान लियोनल मेस्सीलाई चेतावनी दिएका छन् । अर्जेन्टिनी स्टार हिगुइनले बार्सिलोना छोडेर म्यानचेस्टर सिटी जाने चर्चामा रहेका मेस्सीलाई प्रिमियर लिगमा नजान सुझाव दिँदै चेतावनी दिएका हुन् ।

पछिल्लो समय क्लबको निराशाजनक नतिजाका कारण मेस्सीले बार्सिलोना छोड्ने चर्चा चलिरहेको छ । सन् २०१९–२० को सिजन उपाधिविहीन भए हुनु र प्रतिद्वन्द्वी क्लब रियल मड्रिडलाई ला लिगाको उपाधि सुम्पिनु, कोपा डेल रेको क्र्वाटरफाइनलबाटै बाहिरिनु तथा च्याम्पियन्स लिगमा लज्जास्पद हारका कारण उनी निराश छन् ।

सर्वाधिक धेरै छ पटकका बालोन डी‘ओर विजेता मेस्सी बार्सिलोना छोड्दै प्रिमियर क्लब सिटी जाने चर्चामा रहेका छन् । तर, सहकर्मी हिगुइनले भने मेस्सीलाई प्रिमियर क्लब नजान सुझाव दिएका छन् ।

रियल मड्रिडका पूर्वस्टार हिगुइनले इंग्ल्याण्डमा आधा सिजन खेलेका थिए । २०१८–१९ को आधा सिजन चेल्सीबाट खेलेका उनले आफ्नो अनुभव पोख्दै भने, ‘मैले प्रिमियर लिगमा धेरै पीडा भोगेँ । ती छ महिना मेरा लागि अनुकूल हुन सकेन । त्यो ला लिगा जस्तो होइन । त्यहाँका डिफेन्डरले तपाईंलाई हात हान्छन् र फ्रिकिक पनि पाइँदैन जसरी स्पेनमा पाइन्छ ।’

‘मलाई थाहा छैन कि मेस्सी कसरी प्रभावित हुन्छन् । तर, मैले जे भोगेँ त्यो मेस्सीले पनि भोगून् भन्ने म सोच्दिँन । पहिलेदेखि नै उनी अर्कै स्तरका खेलाडी हुन् । मेस्सी अहिले के सोचिरहेका छन् भन्ने मलाई थाहा छैन । तर, म कामना गर्छु कि उनी जेमा खुशी हुन्छन् त्यहीँ निर्णय लिऊन्,’ ‘फक्स स्पोर्ट्स’सँगको कुराकानीमा उनले भने ।